
काठमाडौँ, ४ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विघटन गर्ने दुष्प्रयास गरेको दावी गरेका छन् ।
खनाल र माधव कुमार नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा खनालले ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।
खनालले भने, ‘केपी ओलीको पार्टी विभाजन गर्ने दुष्प्रयासका विरुद्ध देशव्यापी रोष प्रकट भएको छ । त्यसलाई ठोस दिशा दिन यो छलफल आयोजना गरिएको हो । छलफलले जे निष्कर्ष निकाल्छ, त्यही अनुसार पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न आवश्यक छ ।’
उनले खनालले ओलीले सरकारको नेतृत्व गरेदेखि नै गुटबन्दी बढेको समेत आरोप लगाएका छन् । ‘यो पार्टीमा ओलीले गुटबन्दी गर्नुभयो । मदन भण्डारी फाउन्डेसनका नाममा गुटबन्दी गर्दै जाँदा वैचारिक र सैद्धान्तिक विषय शुन्य भयो र संगठनात्मक क्षेत्रमा अराजकता हुन थाले’, खनालले भने, ‘पार्टी एकता पनि ओलीले नै भंग गर्न थाल्नुभयो र समस्या आए । समस्या आउदा पनि मतभेद आउँदा पनि पार्टी बाहिर लगेनौँ । पार्टी कमिटिभित्रै प्रश्न उठायो ।’
उनले ओलीका ज्यादतीहरू तीन वर्षसम्म कठोर भएर सहनुपरेको पनि बताए । ‘जब हामीले प्रश्न उठाउन थालेपछि उहाँले संसद नै विघटन गर्न पुग्नुभयो । त्यो संविधानका विरुद्ध थियो’, खनालले भने, ओलीको उक्त कदम राजनीतिक र संवैधानिक लडाइँ लड्दै संसद पुनःस्थापनापछि संविधान, लोकतन्त्र र जनताको जनादेश बचाउन र अस्थिरता अन्त्य गर्न सकियो ।’
‘नयाँ परिस्थितिमा पार्टी अध्यक्षले सवै नेतासँग विचार, विमर्श र छलफल गरेर नयाँ पहलकदमी गर्नुपर्नेमा उल्टै बालुवाटारमा गुट बैठक राखेर एकलौटी निर्णय गर्नुभयो । त्यो निर्णय विधान र सोच अनुरुप छैन’, खनालले भने, ‘पार्टीका कार्यदिशा, विधि, पद्दति उल्लंघन गर्ने, अहंकार दम्भ देखाउँदै आफ्नै ढंगले चल्न थाल्नुभयो ।’
ओलीले कुनै कार्यका लागि छलफल नगरेर एकलौटी निर्णय गरेको खनालेको आरोप थियो । ‘तीन वर्षमा आएका नीति कार्यक्रम पनि पार्टीका कुरा समेटिएन । बजेटमा पनि पार्टीका कार्यक्रम नीति सोच प्रतिविम्बित हुन सकेनन् एकलौटी बजेट ल्याउनुभयो’, खनालको भनाइ छ ।
त्यस्तै, खनालले प्रधानमन्त्री ओलीले गएको ३ वर्षमा घोषणा पत्रको लागु नगर्दा देश अग्रगामी दिशातर्फ नगएको आरोप पनि लगाए । ‘भ्रष्टाचार व्यापक बढ्दै गयो । स्वयं प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गर्न थाल्दा अन्योल बढ्दै गयो । ३/४ सय मान्छे नियुक्ति गर्दै क्षमतावान छोडेर आसेपासेलाई मात्रै नियुक्ति गर्नुभयो’, उनले भने ।
‘नसुन्ने मात्रै नभएर बैठक नै नराखेर पार्टीका निर्णय अस्वीकार गर्दै हिँड्न थाल्नुभयो । र, पार्टी एकीकरण भएको ३ बर्ष पुग्दा पनि एकीकरण हुन सकेन । पार्टी बचाउन पनि सकिएन । पुरै पार्टी दक्षिणपन्थी अवसरवादतर्फ गयो’, खनालको भनाइ छ ।












प्रतिक्रिया