९ कार्तिक २०८३, सोमबार

दोहोरो नागरिकता बनाउने व्यक्ति पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ४ चैत । दोहोरो नागरिकता बनाई दुरुपयोग गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बाग्लुङ गलकोट नगरपालिका–२ घर भएका कमल थापा, कमल सुनुवार भन्ने ३७ वर्षीय कमल सुनारलाई काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट एउटै मितिमा एउटै नागरिकता नम्बरमा एउटामा कमल सुनार र अर्कोमा कमल थापा नाम राखी दुई वटा नागरिकता जारी गराई कमल थापाको नामबाट विभिन्न सरकारी निकायहरूमा पेश गरी दुरूपयोग गरी सेवा समेत लिएको तथा पुनः काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट २०७४ माघ २४ गते कमल सुनुवारको नाममा नागरिकता जारी भएको अनुसन्धानको क्रममा खुल्न आएपश्चात प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै उनको साथबाट जिल्ला प्रशासन कार्यालयको वाग्लुङवाट जारी भएको कमल सुनार नामको ना.प्र.नं. ३८४२/३७८ को सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको नामको ना.प्र.नं. २७–०१–७४–१४२५२ को जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको सक्कल नागरिकताको प्रमाणपत्र १ थान, कमल सुनुवारको राहदानी नम्बर १०७७१८०४ को सक्कल राहदानी १ थान, १ थान मोबाइल, कमल सुनुवारको नामको जन्म दर्ताको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी भएको कमल सुनुवार समेतको नाता प्रमाणितको सक्कल प्रमाणपत्र १ थान, काठमाडौं महानगरपालिका कार्यालयबाट जारी कमल सुनुवार समेतको भएको रिलेसन सर्टिफिकेट सक्कल प्रमाण पत्र १ थान लगायत विभिन्न कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ ।