
काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण र बलात्कारविरुद्धको कानून् बनाउन समेत नदिएकोप्रति दुःख व्यक्त गरेका छन् ।
सरकारलाई असफल पार्न गरिएको विरोधका नाममा मुलुकलाई चाहिने र अत्यावश्यक विधेयकहरु समेत संसदमा प्रवेश गर्न नदिएर अलोकतान्त्रिक आचरण प्रस्तुत गरेको आरोप लगाएका छन् ।
सभामुख अग्नी सापकोटा, प्रचण्ड, माधव र झलनाथहरुलाई लक्षित गर्दै ओलीले प्रश्न गरेका छन्– ‘एसिड आक्रमण र बलात्कारविरुद्धको कानून बनाउन किन नदिएको ?’
आज मंगलबार पार्टी केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानको कार्यान्वयनप्रति सभामुखको जुन कर्तव्य थियो त्यसभन्दा पर भिन्न प्रकारका सहमती र सेटिङबाट संविधान कार्यान्वयन हुन नदिनु, एसिड आक्रमणविरुद्धको अध्यादेश, बलात्कारविरुद्धको कानूनका लागि अत्यावश्यक अध्यादेश छलफल नै गर्न प्रवेश नदिइनु, निष्प्रभावी बनाउने चेष्ठा गर्नु, यो सबै के हो ?’
‘एसिड आक्रमणविरुद्धको अध्यादेश, बलात्कारविरुद्धको कानूनका लागि अत्यावश्यक अध्यादेश ल्याइएकोमा पनि संसद अवरुद्ध गर्नेहरु जनताका प्रतिनिधि हुन् कि जनविरोधी पात्र हुन् ?,’ उनले प्रश्न गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापना गरेर आफैँले चल्न नदिइनु गम्भीर कुरा भएको प्रधानमन्त्रीको भनाइ छ ।















प्रतिक्रिया