
काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी मुख्यालय धुम्बाराहीमा भएको भेटवार्ता सकिएको छ ।
वार्ताका क्रममा अध्यक्ष ओलीले पार्टीभित्र मिलेर अगाडि बढ्न नेताहरुलाई आग्रह गर्दै विभाजनको बाटो नअँगाल्न सुझाव दिएको बताइएको छ ।
वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको भए पनि प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको नेपाल पक्षका नेता रघुजी पन्तले जानकारी दिए ।
अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढाउनुपर्ने विषयमा बैठकमा छलफल भएको पन्तले बताए । पार्टी अध्यक्ष केपी ओलीले वार्ताको वातावरण बनाउनु निकै सकारात्मक कुरा भएको प्रतिक्रिया नेता पन्तले दिएका छन् ।
वार्तामा नेता माधव कुमार नेपालको साथमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रघुजी पन्त सहभागी भएका थिए भने ओलीका साथमा नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए ।
गएको कात्तिकपछि ओली र नेपालबीच आज पहिलोपटक भेटवार्ता भएको हो ।















प्रतिक्रिया