२८ आश्विन २०८३, बुधबार

एमाओवादी विघटनको खतरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटनको खतरातिर बढिरहेको औल्याउँदै नेता कार्यकर्तालाई कार्यशैली सुधार्न चेतावनी दिएका छन्।

शनिबार राजधानीमा पार्टीको काठमाडौ जिल्ला सम्मेलन उद्घाटनपछि दाहालले पार्टी भित्र पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढेको भन्दै कार्यशैली नसुध्रिए पार्टी नै विघटनतिर जाने खतरा बढेको बताए।

‘पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने प्रवृत्ति नसच्चीए पार्टी विघटन हुने खतरा छ,’ दाहालले सम्मेलनमा भने,’ पार्टीलाई विघटनबाट जोगाउन नेता कार्यकर्ताको कार्यशैलीमा रुपान्तरण हुनुपर्छ, पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्छ।’

एमाओवादीमा पदमात्रै खोज्ने प्रवृत्ति पछिल्ला दिनमा बढेको उनको ठम्याइ छ। ‘स्थायी, पोलिटब्युरो र केन्द्रीय समितिमा पद मात्रै खोज्नेहरू अन्य पार्टीमा गए पनि केही फरक पर्दैन,’ दाहालले भने, ‘धेरै अवसरवादीको पार्टीभन्दा थोरै क्रान्तिकारीको पार्टी चाहिएको छ।’

उनले ३५ जनाको केन्द्रीय समिति हु“दा पहिलो संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको पार्टी अहिले २ सय ७० जनाको केन्द्रीय समिति रहेकैले तेस्रोमा खुम्चिनुपरेको दाहालले बताए। ‘पदको मात्रै बार्गेनिङ गर्ने अनि स्थायी तथा केन्द्रीय समिति र जिल्ला इन्चार्ज हुने आसमा बसेकाहरूले पार्टी छाडे हुन्छ,’ उनले भने।

हेटौंडा महाधिवेशनको कार्यदिशा कार्यान्वयन गर्न नसक्दा पार्टीमा ‘विकृति र भद्रगोल’ बढेको दाहालको भनाइ थियो। कार्यदिशा सच्याउनै फेरि राष्ट्रिय सम्मेलन गर्न लागेको उनले दाबी गरे।

उपाध्यक्ष बाबुराम भट्टराईले भने कार्यदिशाले मात्रै पार्टीलाई विघटनबाट जोगाउन नसकिने टिप्पणी गरेका थिए। उनले मुलुकमा क्रान्तिकारी नयाँ शक्तिको आवश्यकता रहेको जनाउँदै त्यस विषयमा आगामी राष्ट्रिय सम्मेलनमा बहस हुने पनि बताए। कार्यक्रममा दाहालले नेपाली कांग्रेस र एमालेले सरकार निर्माणपछि विगतको सहमति र सम्झौता कार्यान्वयन नगरी जनताको हितविपरीत तानाशाही निर्णय गरेको आरोप लगाए। पश्चिमा मुलुकले विभिन्न बहानामा एमाओवादीलाई समाप्त पार्ने काम गरेको उनको टिप्पणी थियो।

दाहालले विगतका उपलब्धि संस्थागत हुनेमा निकै चुनौती थपिएको भन्दै सबैलाई सजग हुन आग्रह गरे। नेता भट्टराईले पनि दोस्रो संविधानसभा निर्वाचनपछि आन्दोलनका उपलब्धि धरापमा परेको बताए। पुरानै दलहरूले मुलुकमा संकट ल्याएको आरोप लगाउँदै उनले उपलब्धि धरापमा पर्ने खतरा बढेको औंल्याएका थिए। नागरिकमा खबर छ।