
काठमाडौं, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले जुन अनुहार लिएर केपी ओली एमालेको बैठकमा आउँछन्, त्यही अनुहार लिएर आफूहरू पनि एमालेको बैठकमा सहभागी हुने बताएका छन् ।
केपी ओली र आफ्नो समूह एकै समयमा पुनः एमाले बनेको भन्दै उनले अब कसको अनुहार कस्तो हुने भन्ने प्रश्न सामान्य भएको समेत बताएका छन् । हिमालय टेलिभिजनबाट बुधबार बेलुका प्रशारण भएको कार्यक्रम ‘यक्ष प्रश्न’लाई अन्तर्वार्ता दिँदै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यवहार हेरेर अगाडि बढ्ने बताएका छन् ।
‘व्यवहार र सम्बन्ध भनेको एकपक्षीय हुँदैन’, अन्तर्वार्ताकारको प्रश्नको जवाफ दिँदै भट्टराईले भनेका छन्, ‘केपी ओली जुन अनुहार लिएर आउनुहोला हामी पनि त्यही अनुहार लिएर जाउँला नि !’ सर्वोच्च अदालतको पछिल्लो (फागुन २३) को फैसलाबाट केपी ओली र आफू एकैपटक पुनः एमाले भएको भन्दै भट्टराईले भनेका छन्, ‘किनभने उहाँ पनि फागुन २३ गते साढे २ बजेतिर एमाले हुनुभयो, हामी पनि त्यही समयमा भएका हौं । आखिर एउटै निर्णयबाट उहाँ पनि र हामी पनि एमाले भयौं भनेपछि ‘अनुहार’को प्रश्न कसरी आउँछ ?’
आगामी दिनमा पार्टीमा हुने एक आपसको बुझाइका आधारमा बैठकहरू सञ्चालन हुने तथा प्रस्तुतिको अवस्था समेत सोही अनुरूप अगाडि बढ्ने भट्टराईको भनाइ छ । पार्टीका हरेक नेता तथा कार्यकर्ता स्वतन्त्र हुने भएकाले अत्यधिक पेलानमा पारिए छोडेर हिँड्न सकिने संकेत समेत उनले गरेका छन् ।















प्रतिक्रिया