४ कार्तिक २०८३, बुधबार

सर्वोच्च अदालतको फैसलाले राजनीतिक अन्योलता सृजना गर्यो : राष्ट्रिय जनमोर्चा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । राष्ट्रिय जनमोर्चाले आइतबार सर्वोच्च अदालतले दिएको नेकपाको नासम्बन्धी फैसलाका कारण मुलुकमा थप राजनीतिक अन्योलता सृजना गरेको बताएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्च अदालतको फैसलाले उक्त अवस्था सृजना गरेको सो पार्टीको निष्कर्ष छ । अबको राजनीतिक निकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मत पनि जनमोर्चाले अगाडि सारेको छ ।

सोमबार पार्टीका तर्फबाट अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उत्पन्न जटिल समस्या र अन्योलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर यो समस्यामा निकास दिनु पर्दछ ।’

‘नेकपाको विभाजन वा त्यसको सरकारको विघटनले गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता आदिमाथि गम्भीर खतरा पैदा हुन्छ भन्ने हो । त्यही कारणले हामीले केपी ओलीको सरकारलाई समर्थन गरेका थियौं,’ विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘ओलीको संसद विघटनको कदमले ती कुराहरुमा खतरा उत्पन्न भएपछि हामीले त्यो सरकारलाई दिएको समर्थन फिर्ता लियौं । अहिलेको स्थितिमा पनि त्यो खतरा टरेको छैन । त्यो खतराका विरुद्ध राष्ट्रिय एकताको खाँचो छ ।’

नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक बीचमा कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हुने पनि अध्यक्ष केसीले बताएका छन् ।