४ कार्तिक २०८३, बुधबार

मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं : मन्त्री अर्याल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छिन् ।

आज बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले सो कुरा बताएकी हुन् । ‘हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप्त गर्यौं । मलको अभावमा उत्पादन घट्ने र किसान एवं सिंगो मुलुक मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौ’, मन्त्री अर्यालले भनिन् ।

तत्कालीन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ति र दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अगाडि बढेको उनले बताइन् ।

मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मलको भण्डारणको व्यवस्था गरिने उनको भनाइ छ ।

अनुमानको आधारमा मलको आपूर्ति नभएर तथ्य र आवश्यकताका आधारमा गर्नेगरी सबै प्रदेशसँग त्यहाँको आवश्यकता माग गरिएको उनले बताइन् । ‘मलको आपूर्ति नुमानको आधारमा होइन तथ्य र आवश्यकताको आधारमा गर्नेगरी त्यहाँको प्रदेशहरुसँग आवश्यकता कति हो भन्ने माग गरिएको छ । त्यसको आधारमा प्रबन्ध गरिनेछ’, मन्त्री अर्यालले भनिन् ।

यस आर्थिक वर्षमा व्यवस्था गरिएको ११ अर्ब बजेट मध्येबाट ५ लाख मेट्रिक टन (युरिया मल २ लाख ८२ हजार ५ सय, डिएपी २ लाख २ हजार ५ सय र पोटास १५ हजार) आयात गर्ने तयारी रहेको मन्त्री अर्यालले बताइन् । त्यसमध्ये यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल विक्री भइसकेको छ भने १ लाख ६२ हजार मेट्रिक टन स्टक र नेपाल भित्रिने क्रममा रहेको छ ।

गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्री भएको थियो ।