८ कार्तिक २०८३, आइतबार

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, ओली–विप्लवले शुक्रबार सार्वजनिक गर्ने

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । सरकार र नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको वार्ता सफल भएको छ ।

बालुवाटारमा बिहीबार बिहन भएको वार्तामा विभिन्न सहमति भएका छन् । सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लवका वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।

‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीका बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ’, प्रेस नोटमा भनिएको छ, ‘उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयहरू रहेका छन् ।’

‘सहमितको विस्तृत विवरण फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ’, विज्ञप्तिमा भनिएको छ ।

‘उक्त समारोहमा नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव विप्लवले सम्बोधन गर्नुहुनेछ’, प्रेस नोटमा उल्लेख छ ।

सरकार र विप्लव समूहबीच बुधबार र बिहीबार दुई दिन बालुवाटारमा भएको वार्तामा सहमति भएपछि तीन बुँदे सहमति भएको छ ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र डा.राजन भट्टराई तथा विप्लव समूहबाट खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने रहेका थिए ।