३० आश्विन २०८३, शुक्रबार

राजनीति छाडेर नेता विद्युत उत्पादन गर्न हाइड्रोतिर लागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hydro-amakoshiकास्की, १७ चैत । कास्कीका सूर्यबहादुर केसीसँग पूर्व सभासद् हुन् । पहिलो संविधानसभाको चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँलाई समानुपातिकतर्फबाट सभासद् बनायो । उहाँ राजनीतिक रुपले अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध हुनुहुन्छ ।

तर, आजकल उहाँको राजनीतिप्रति खासै मोह छैन । उहाँ यतिबेला राजनीति छाडेर ‘हाइड्रो’तिर लाग्नुभएको छ । “म अहिले सक्रिय राजनीतिमा छैन, हाइड्रोतिर लागेको छु”, केसीले भन्नुभयो “देशले चरम ऊर्जा सङ्कट भोगेको बेला नागरिकको हैसियतले विद्युत् उत्पादन गरी देशलाई सेवा गर्न कस्सिएको हुँ ।”

पार्टीको सक्रिय राजनीतिबाट केही समययता टाढा देखिनुभएका उहाँले सभासद् भएको पाँच वर्षको अवधि आफ्नो जीवनभरको व्यर्थ समय भएको बताउनुभयो । “सभासद् हुँदाको अवधि उपलब्धिविहीन हुनगयो” उहाँले भन्नुभयो ।

अहिले केसीले अन्य लगानीकर्तासँग मिलेर कास्कीमा तीन वटा जलविद्युत् योजना सम्पन्न गरिसक्नुभएको छ । एउटा जलविद्युत योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । उहाँको यो अभियानमा पूर्व जलस्रोतमन्त्री हरि पाण्डेलगायतले साथ दिनुभएको छ ।

केसीले निर्माण गरेको कास्की जिल्लाको पोखरा उपमहानगरपालिकाको विजयपुर हाइड्रो ४.५ मेगावाट, कास्कीकै मर्दी हाइड्रो ४.८ र टाक्स हाइड्रोबाट १ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

त्यस्तै १३ मेगावाटको सिक्लेस हाइड्रोको काम ७० प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । “यो हाइड्रोमा रु दुई अर्ब पाँच करोड लगानी लाग्ने देखिन्छ” केसीले भन्नुभयो ।

यसैगरी विजयपुर गाविस–२ र लवाङघलेल गाविसको सिदिङमा इदिमर्दी हाइड्रोपावर निर्माण प्रक्रिया अगाडि बढेको उहाँले जानकारी दिनुभयो । “दुईवटै हाइड्रोपावरको छ महिनापछि काम सुरु हुन्छ” केसीले भन्नुभयो ।

ती परियोजनामा रु दुई अर्ब १५ करोड खर्च लाग्ने अनुमान गरिएको छ । विजयपुर–२ बाट ४.५ मेगावाट र इदिमर्दीबाट सात मेगावाट बिजुली निस्कने छ । विजयपुर–२ मा ९५ करोड र इदिमर्दीमा रु एक अर्ब २० करोड लागनी हुने उहाँको अनुमान छ । केसीले सेती नदीमा समेत तीन वटा हाइड्रोपावर निर्माण गर्ने योजना रहेको सुनाउनुभयो ।

ठेकेदारीबाट व्यवसाय सुरु गर्नुभएका उहाँले दक्षिण एसियामा नै पहिलो पटक चाउचाउ कम्पनीको स्थापना गर्नुभयो । रारा ब्रान्डको चाउचाउ अहिले पनि उत्पादन हुँदै आएको छ । रासस