विराटनगर, १८ फागुन । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटो संस्करण आगामी चैत २६ गतेबाट हुने भएको छ ।
आयोजक गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार एन्फाको सहयोगमा चैत २६ देखि आउँदो वर्ष वैशाख ५ गतेसम्म विराटनगरको सहिद रंगशालामा प्रतियोगिता हुने छ ।
अध्यक्ष बानियाँले विगतको तुलनामा यसपटक सहभागी टोली, विजेता र उपविजेताले सर्वाधिक नगद पुरस्कार प्राप्त गर्ने बताए ।
प्रदेश १ सरकारको सहयोगमा मैदानमा रात्रीकालिन खेलकुद गराउने गरि फ्लडलाईट्सको जडान भएपछि दुई वर्षदेखि रोकिएको प्रतियोगिताले पुनः गति लिने अध्यक्ष बानियाँले जानकारी दिए ।
प्रतियोगिताका लागि मैदान स्तरोन्नतीको कार्य, सहभागी टोली, लगायतका विषयमा कार्य सुरु भइसकेको उनले बताए ।
ट्रष्टका प्रवक्ता मनोज बस्नेतले प्रतियोगितामा विजेता टोलीले हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशी हात पार्ने जानकारी दिए। उनका अनुसार उपाधि विजेता टोलीले यसपटक १५ लाख १५ हजार रुपैयाँ नगद र ट्रफी हात पार्ने छन्।
मोफसलमा खप्तड गोल्डकपमा २१ लाख रुपैयाँ नगद पुरस्कारपछि सर्वाधिक पुरस्कार राख्ने विराट गोल्डकप दोस्रो भएको छ।
गोल्डकपको तयारीका लागि विभिन्न तयारी समितिको गठन गरि कार्यलाई तीव्रता दिइएको छ। यसपटक उपविजेता टोलीले ७ लाख ५१ हजार रुपैयाँ हात पार्ने बताएका प्रवक्ता बस्नेतले प्रतियोगितामा विभिन्न सात विधाका उत्कृष्ठ खेलाडीलाई समान २५ हजार रुपैयाँ प्रदान गरिने जानकारी दिए ।
त्यसैगरि, प्रत्येक दिनको खेलमा उत्कृष्ट हुने खेलाडीले १५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए। प्रतियोगिताको उत्कृष्ट एक खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिने बस्नेतले जानकारी दिए ।
नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी टोलीले प्रिक्वाटर खेल्दै गर्दा ३२ हजार, क्वाटरफाइनल पुग्ने टोलीले ५६ हजार, सेमीफाइनलमा खेल्ने टोलीले ८० हजार रुपैयाँ हात पार्ने आयोजक ट्रष्टले जनाएको छ ।















प्रतिक्रिया