काठमाडौं, १६ फागुन । राष्ट्रियसभा सदस्य एवं गायिका कोमल ओलीले प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्ने भएकी छिन् ।
पछिल्लो समय आफूलाई नागरिक समाजका अगुवाका रुपमा पहिचान बढाउँदै आएका नेता पन्तविरुद्ध ओलीले मानहानीको मुद्दा दायर गर्न लागेकी हुन् ।
पन्तले एक कार्यक्रममा राष्ट्रियसभा सांसद ओलीलाई पिडौंला देखाएर ‘पोइल जान पाम..’ गीत गाएपछि सांसद बनाइएको अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्ति अहिले सर्वत्र आलोचना र चर्चाको विषय बनेको छ ।
पन्तले पार्टीमा कोमल ओलीको कुनै योगदान नरहेको तथा विवाह नगरी पार्टीमा वर्षौं योगदान गरेका महिलाहरुले टिकट नपाएको बताएका छन् । तर, ओलीले पिडौंला देखाएकै भरमा राष्ट्रियसभा सदस्यको भूमिका पाएको उनले आरोप लगाएका छन् ।
ओलीले पन्तको उक्त अभिव्यक्तिलाई निच सोच भएको प्रतिक्रिया दिँदै उनको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएकी छिन् । पन्तको महिलालाई हेर्ने दृष्टिकोण अत्यन्तै निकृष्ट रहेको ओलीको भनाइ छ ।