
काठमाडौं, १० फागुन । साझा यातायातले विद्युतीय बस किन्ने प्रक्रिया पुनः अगाडि बढाउने भएको छ ।
यसअघि उक्त बस खरीद प्रक्रिया अपारदर्शी र शंकास्पद भएको भन्दै सरकारले रोक लगाएको थियो । तर, अहिले सरकारकै अनुमतिमा पुनः सोही कम्पनीले बस खरीद प्रक्रिया अगाडि बढाउन लागेको हो ।
सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ फिर्ता दिने भएपछि उक्त प्रक्रिया पुनः अगाडि बढाउन लागिएको साझाका अध्यक्ष कनकमणि दिक्षितले बताएको छ । त्यसअघि सरकारले खरीद प्रक्रिया चित्त नबुझेको तथा शंका लागेको भन्दै उक्त परिमाणको रकम सरकारले नै खिचेको थियो ।
सरकारले साझालाई फेरि विश्वास गरेर सबै रकम फिर्ता गरेकाले विगतकै योजना अनुरुप जतिसक्दो छिटो, स्वच्छ र पारदर्शी रुपमा विद्युतीय बस किन्न प्रक्रिया अघि बढाउने साझाको योजना छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७५ असोज १ गते ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीँ रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।
साझाले पहिलो लटमा ३० देखि ५० वटा विद्युतीय बस किन्ने तयारी गरेको छ ।















प्रतिक्रिया