
काठमाडौं, ९ फागुन । सबै विद्यार्थीहरूका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न आगामी बिहीबार (फागुन १३ गते) ‘डिजिटल लर्निङ डे’ विशेष कार्यक्रम आयोजना हुने भएको छ ।
यो कार्यक्रमले शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने शुरुवातको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने आयोजकको विश्वास छ ।
निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि (२०१९/२०७५) डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ शुरू गरेको हो ।
शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन आफूहरुको यो एउटा सानो प्रयास रहेको कार्यक्रमकी संयोजक नेहा जोशीले बताइन् ।
यस वर्षको कार्यक्रममा निमा एकेडेमी मुख्य आयोजक, लिभिङ विथ आइसिटी र सोचवेयर सहआयोजकको रूपमा रहेका छन् । जिनियस क्लाउड एकेडेमी इन एसोसिएसनको रूपमा रहेको यस कार्यक्रममा कारखाना सहयोगी संस्थाको रूपमा रहेको छ । यसैगरी कार्यक्रममा भायानेट कम्युनिकेशन र पिक्सल टचको पनि सहकार्य रहेको छ ।
डिजिटल लर्निङ डे इन एसोसिएसन विथ जिनियस क्लाउड एकेडेमी कार्यक्रममा विभिन्न महत्वपूर्ण विषयमा प्यानल डिस्कसन तथा अन्तक्रिया कार्यक्रमहरू आयोजना हुने छन् । ‘रिइमाजेनिङ डिजिटल एजुकेशन : पोलिसी एण्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन हुनेछ भने ‘फ्युचर अफ डिजिटल एजुकेशन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन हुने छ ।
कार्यक्रममा ‘कि नोट स्पिकर’ को रूपमा समेत अन्तर्राष्ट्रिय स्तरबाट एक विज्ञको सहभागिता रहने छ । विभिन्न विज्ञहरूले डिजिटल शिक्षाको बारेमा बहस तथा प्रस्तुति गर्ने उक्त कार्यक्रम होटल हिमालयमा आयोजना हुने छ ।
कार्यक्रममा यस क्षेत्रमा काम गरिरहेका सरोकारवाला, विश्वविद्यालयका प्रतिनिधि र विद्यालयका प्रिन्सिपल, शिक्षक र विज्ञहरू सहित १०० जनाभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया