मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित भवन उद्घाटन

दैनिक नेपाल २०७७ फागुन ९ गते २०:५७

रामेछाप, ९ फागुन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रामेछापको नवनिर्मित कार्यालय भवन र ब्यारेक भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवन तथा कार्यालय परिसरको निरीक्षण गर्नुका साथै भवन निर्माण कार्यमा उल्लेखनीय सहयोग पुर्याउने ४ जनालाई प्रशंसापत्र समेत प्रदान गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनलाई आम नागरिकको सुरक्षाप्रतिको चाहना, स्थानीय समुदायको सदासयता तथा नागरिकप्रति नेपाल प्रहरीको संयुक्त विम्वको रुपमा स्थापित गर्न सक्नुपर्ने बताए ।

नयाँ कार्यालय तथा ब्यारेक भवनमा कार्यरत प्रहरी कर्मचारीलाई आम नागरिकका नैसर्गिक हक अधिकारको संरक्षण तथा संवर्धन, शान्ति सुरक्षा र न्यायका लागि अनन्तकालसम्म निष्पक्ष तवरबाट क्रियाशील रहन उत्प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरेका छन् ।

भवनको भौतिक संरचना जमिनमाथि उभिएको देखिन्छ तर यसको वास्तविक जग र आधार नागरिकको हृदय र मस्तिष्कमा बस्ने उल्लेख गर्दै महानिरीक्षक थापा क्षेत्रीले भने, ‘प्रहरीका भवन केवल प्रहरी बस्ने घर मात्रै पनि होइनन् यी भवन आम नागरिकका विश्वास र भरोसाका प्रतिक पनि हुन् ।’

कुनै न कुनै पीडाले मात्र नागरिक प्रहरी कार्यालयमा आउने हुनाले निलो वर्दीले कहिलै पनि दिन र रात, झरि र ठन्डीको वहाना गर्न नपाउँने उहाँले चर्चा गरे ।

नेपाल सरकारको नियमित बजेटबाट कूल ७ करोड ५५ लाख ३३ हजार ६ सय ५ रुपैयाँ ५५ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । कूल ११ हजार १७० वर्ग फिट क्षेत्रफलमा निर्मित ३/३ तले उक्त दुवै भवन फ्रेम स्ट्रक्चरमा निर्माण गरिएको छ । उक्त कार्यालय भवनमा ५ वटा हिरासत कक्ष सहित २२ कोठा र ब्यारेक भवनमा ९ वटा कोठा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित