
धनुषा, ९ फागुन । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमा नियुक्ति पाएका झाले आज आइतबार पदभार ग्रहण गरेका हुन् ।
नागरिक अभियन्ता, राजनीतिक विश्लेषक र पत्रकार समेत रहेका झाले पदभार ग्रहण गर्दै देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त र समभावसहितको समाज निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज आशान्त र नागरिक असुरक्षित हुनसक्ने भन्दै उनले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा आफ्नो भूमिका कायम राख्ने बताएका छन् ।















प्रतिक्रिया