४ कार्तिक २०८३, बुधबार

सामुदायिक मेलमिलापकर्ता समाजको दशौँ साधारणसभा सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी, ८ फागुन । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल पश्चिम नवलपरासीको दशौँ वार्षिक साधारणसभा आज परासीमा सम्पन्न भएको छ ।

सभाले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रगति प्रतिवेदन पारित गर्नुका साथै केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट पनि गरेको छ । साधारणसभाको उद्घाटन शत्रमा बोल्ने मेलमिलापकर्ताहरुले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि मेलमिलापकर्तालाई वेवास्ता गरिएको गुनासो गरेका थिए ।

मेलमिलापकर्तालाई दलिय विभेद गर्ने गरिएकोले मेलमिलापकर्ता निराश हुँदै गएको उनीहरुले बताएका थिए । स्थानीय तहले निवेदन दर्ता भएको लामो समयसम्म पनि विवाद समाधानका लागि अग्रसरता नदेखाउँदा सामान्य विवादहरु पनि प्रहरी र अदालतमा जान थालेको उनीहरुको गुनासो थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामुदायिक मेलमिलापकर्ता समाज नेपालका केन्द्रिय सदस्य नगेन्द्र यादवले मेलमिलापकर्ताहरुको गुनासो जायज भएको बताउँदै समाधानका लागि आफूले केन्द्रमा पहल गर्ने बताउनुभयो । उहाँले निराश नभई आशावादी हुन पनि उहाँले आग्रह गर्नुभयो ।

सामुदायिक मेलमिलापकर्ता समाजका जिल्ला अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाकी पूर्व जिल्ला कोषाध्यक्ष एवं सुनवल नगरपालिकाकी कार्यपालिका सदस्य शान्ता भण्डारी, सामुदायिक मेलमिलापकर्ता समाजका रामग्राम नगर अध्यक्ष अवधराज यादव, प्रेस संगठन नवलपरासीका संयोजक मोहन पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको समाजका जिल्ला सचिव दयानन्द चौधरीले जानकारी दिनुभयो ।

सभामा अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष कमला सुवेदीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभाले आगामी फागुन २८ गते काठमाडौँमा हुने केन्द्रिय महाधिवेशनका लागि नारायण अधिकारी, कमला सुवेदी, महादेव गुरौ, कमल शर्मा, शान्ता भण्डारी र धनबहादुर आलेलाई प्रतिनिधिको रुपमा छनौट गरेको जनाएको छ ।