४ कार्तिक २०८३, बुधबार

२६ करोड ५८ लाख लागतमा निर्माण हुने कान्ति भैरव माविको विद्यालय भवन शिलान्यास

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको विद्यालय भवन बिहीबार शिलान्यास गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गरेकी हुन् ।

उक्त नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुन लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो । भ्याटबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

शिलान्यासपछि मन्तव्य व्यक्त गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकोमा खुशी व्यक्त गरे । भवन निर्माणसँगै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास उनले व्यक्त गरेका छन् ।

‘सामुदायिक विद्यालयहरुमा भवनसहितका पूर्वाधार निर्माणमा भएको आन्तरिक लगानी र बाह्य सहयोगले शिक्षाको गुणस्तर बृद्धिमात्र होइन शिक्षा प्राप्तिमा देखिएको विभेद कम गर्न पनि पक्कै योगदान गर्नेछ’, ज्ञवालीले भने ।

कार्यक्रममा भारतीय राजदूतावासकी मिसन उपप्रमुख खम्पाले विद्यालय पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने विश्वास व्यक्त गरिन् ।

शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दीपक कुईंकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले पनि मन्तव्य व्यक्त गरेका थिए ।

फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनर्निर्माण हुन लागेको पाँच तले नमूना विद्यालयमा कूल ६० वटा कोठा हुने छन् । त्यसमा ३० वटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि ५ वटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुईवटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि ८ वटा कोठा र विद्यालयको आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने थप ८ वटा कोठा रहने छन् ।

त्यसैगरी, क्यान्टिन, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीनवटा व्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मंञको पनि निर्माण हुने छ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुने छन् ।

विद्यालयका शिक्षक विष्णु प्रसाद पौडेलका अनुसार विद्यालयमा करिब ९०० जना विद्यार्थी अध्ययनरत छन् ।
निर्माण अवधि १५ महिना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता जनाएको जानकारी कार्यक्रममा दिइएको थियो ।

यही माघ २६ गतेबाट निर्माण कार्य शुरु भएको छ । भूकम्पपश्चात शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारतीय अनुदान आयोजनाअन्गर्तत बन्न लागेको यस विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान, रुरकी रहेको छ ।

भारत सरकारले विद्यालय पुनर्निर्माणमा ५ करोड अमेरिकी डलर (बिहीबारको विनिमय दर ११६ अनुसार करिब ५ अर्ब ८० करोड रुपैयाँ) सहयोग गरेको छ । अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा संरचनाहरु निर्माण हुने छन् ।

तीमध्ये ८ वटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनर्निर्माणको विभिन्न चरणमा छन् ।

कान्ति भैरवसहित थप ६ वटा विद्यालयको बिहीबारकै कार्यक्रममा प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना

कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्मा बीच सझदारीपत्रमा हस्ताक्षर भयो ।