४ कार्तिक २०८३, बुधबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र जापानका राजदूतबीच शिष्टाचार भेट

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, ६ फागुन । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेट गरेका छन् ।

राजदूत साइगोले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताए ।

करिब १ वर्षदेखि कोरोना भाइरस महामारीका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अवरोध भएको बताउँदै उनले अब खोप लगाउन थालेपछि सहज हुने विश्वास व्यक्त गरेका छन् । ‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु’, उनले भने ।

जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार रहेको बताउँदै उनले जापानको सहयोगमा निर्माणसम्पन्न बीपी राजमार्ग, निर्माणाधीन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलगायत योजना नेपाली जनताले सम्झिरहने बताएका छन् । ‘पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको सहायता महत्वपूर्ण रहिआएको छ’, अध्यक्ष तिमिल्सिनाले भने ।

त्यसैगरी नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापनबाट नेपाल आउने पर्यटक, स्वयम्सेवकमार्फत दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने उनको भनाइ छ ।

उनले नेपालको संघीय संसद र जापानको संसदबीच पनि सुमधुर सम्बन्ध रहेको बताउँदै समय–समयमा हुने भ्रमण आदान–प्रदानले सम्बन्धलाई प्रगढ हुन सहयोग पुगेको धारणा व्यक्त गरे । ‘अहिलेको महामारी साम्य भई आवतजावत सहज भएपछि जापानको हाउस अफ् काउन्सिलरका प्रेसिडेन्टलाई नेपाल भ्रमणको निम्ता दिन चाहन्छु’, उनले भने ।