
काठमाडौं, ४ फागुन । महिला आसरा सुधार केन्द्र तिलगंगाको दोस्रो वार्षिकोत्सव कार्यक्रम आज मंगलबार सम्पन्न भएको छ ।
केन्द्रकी अध्यक्ष सिर्जना थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रकी अध्यक्ष थापाले केन्द्रकी पूर्वअध्यक्ष प्रमिला खनाललाई सम्मानपत्र प्रदान गरिन् ।
वार्षिकोत्सवको अवसरमा आसरा सुधार केन्द्रले केन्द्रलाई निरन्तर सहयोग गर्ने शान्ति सेवा गृह तिलगंगा काठमाडौंका कार्यक्रम संयोजक बिजेन्द्र कुवँरलाई प्रसंशापत्र, परामर्शदाता लक्ष्मण सिं अधिकारीलाई प्रशंसापत्र र नगद पुरस्कार तथा केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा सहयोग गर्ने प्रहरी कर्मचारीहरु प्रहरी सहायक निरीक्षक शुक्रदेवी राई, प्रहरी जवानद्वय अनुपा हुमागाई र लक्ष्मी दाहाललाई नगद पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा केन्द्रकी अध्यक्ष थापाले प्रहरी जवान भक्तबहादुर नेपालीका २ वर्षीय छोरा लक्ष्मी प्रसाद नेपालीको उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ आर्थिक सहायतास्वरुप नेपाल प्रहरी श्रीमती संघको तर्फबाट ५१ हजार रुपैयाँ र आसरा सुधार केन्द्रको तर्फबाट ५१ हजार रुपैयाँ गरी जम्मा १ लाख २ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
सो अवसरमा केन्द्रकी अध्यक्ष थापाले विगतमा पुरुष तथा युवाहरुमा सीमित रहेको लागूपदार्थको प्रयोग समयसँगै महिलाहरुमा समेत फैलिएर व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतलाई आक्रान्त बनाइरहेको अवस्थामा लागूऔषधको दुरुपयोग विरुद्ध चेतनामूलक कार्यक्रम गरी उपचार तथा पुनर्स्थापनामा सघाउँदै लागूऔषध मुक्त समाजको निर्माण गर्नु केन्द्रको प्रमुख उद्देश्य रहेको बताइन् ।
लागूऔषधको कुलतमा फसेका महिला लागूऔषध प्रयोगकर्ताहरुलाई व्यक्तिगत परामर्श, सामूहिक परामर्श तथा आध्यात्मिक प्रवचन, योगाभ्यास लगायत माध्यमहरुद्वारा उपचार गरी घर, परिवार र समाजमा पुनर्स्थापित गराई उनीहरुको सुखद भविष्य निर्माण गर्ने पवित्र उद्देश्यका साथ केन्द्रले गुणस्तरीय सेवा प्रदान गर्दै आएको उनले बताइन् ।
कार्यक्रममा केन्द्रकी पूर्वअध्यक्ष श्रीमती प्रमिला खनालले दुर्व्यसनीमा फसेका महिलाहरूलाई समाजमा पुनर्स्थापित गराउन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताइन् । आसरा सुधार केन्द्र विशुद्ध कल्याणकारी र समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सधै समर्पित रहेको उनको भनाइ छ ।
केन्द्रकी सचिव श्रीमती रीता श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरुले विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया