लण्डन, ४ फागुन । इजरायलमा कोरोना भाइरसविरुद्धको फाइजरको खोप लगाएका व्यक्तिमा गरिएको अनुसन्धानले ९४ प्रतिशत व्यक्तिमा खोप संक्रमण रोक्न प्रभावकारी रहेको देखिएको छ ।
खोप लगाएका व्यक्ति मध्ये ९४ प्रतिशतमा संक्रमण रोक्न सफल भएको देखिएको पछिल्लो तथ्यांकले देखाएको छ । परीक्षण चरणमा जस्तै आम खोप अभियानको क्रममा पनि फाइजरको खोपको प्रभावकारिता उस्तै देखिएको हो ।
खोपले संक्रमण रोक्न तथा गम्भीर अवस्थामा पुग्नबाट सबै उमेर समूहका व्यक्तिलाई जोगाएको देखिएको पब्लिक हेल्थ डक्टर प्राध्यापक हागाइ लेविनले बताएका छन् ।
इजरायलको ठूलो स्वास्थ्य कोष क्लालितले खोप लगाएका ६ लाख तथा नलगाएका ६ लाख जनामा संक्रमणको दर अनुगमन गरेको छ । यसक्रममा सबै उमेर समूह र स्वास्थ्य अवस्था भएका व्यक्तिको अवस्था विश्लेषण गरिएको छ ।
तथ्यांकको विश्लेषणबाट खोप लगाएका व्यक्तिमा संक्रमणदर ९४ प्रतिशत कम देखिएको हो। लक्षण देखिएका व्यक्ति वा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको तथ्यांकबाट यस्तो देखिएको छ ।















प्रतिक्रिया