काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी आली नेतृत्वको कामचलाउ सरकारले सामाजिक संजाल ब्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको भन्दै विरोध जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारद्वारा सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेपछि विज्ञप्ति जारी सामाजिक सञ्जाल व्यवस्थापनका नाममा हुने कुनै पनि प्रकारको निरंकुशता सहन नसक्ने जनाएका छन् । उनले सजग बन्न युवा पुस्तालाई विशेष अपील गरेका छन् ।
सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेको भन्दै शर्माले सोमबार विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् ।
‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर, त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान छंदैछन्’, कांग्रेसले भनेको छ ।
‘थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ’, शर्माले भनेका छन् ।
उनले भने, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरू जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’
‘प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिंदै नेपाली कांग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले भनेको छ, ‘सामाजिक संजालमा ब्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बांध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी हो । यसविरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आग्रह गर्दै नेपाली कांग्रेस संजाल प्रयोगकर्ता युवा पुस्तालाई विशेष जागरुकताका लागि आह्वान समेत गर्दछ ।’











प्रतिक्रिया