
काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोलि सोमबार आयोजना गर्ने विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउन आम सर्वसाधारणमा अपिल गरेको छ ।
वर्तमान सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेसँगै आन्दोलित बनेको कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमविरुद्ध संघर्ष गर्दै आएको छ ।
यसैबीच भोलि कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन आयोजना गर्दै छ । सोही प्रदर्शनमा सहभागीता जनाउन पार्टी केन्द्रीय कार्यालयले आइतबार अपिल जारी गरेको हो ।
‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेस एवं भातृ संस्था र शुभेच्छुक संस्थाले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गतेको विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन्’, आइतबार पार्टी सभापति शेरबहादुर देउवाद्वारा जारी अपिलमा भनिएको छ, ‘अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपिल गर्दछु ।’















प्रतिक्रिया