३ कार्तिक २०८३, मंगलबार

सोमी अली र सलमान खानको सम्बन्ध

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री सोमी अलीले सलमान खानसँग आफ्नो सम्बन्धबारे केही कुराहरू सार्वजनिक गरेकी छिन् । पाकिस्तानमा जन्मेकी सोमी १२ वर्षको उमेरमा आफ्नो परिवारसँग फ्लोरिडा, अमेरिका बसाइ सरेकी हुन् ।

उनले आफू मुम्बई आउनु र बलिउड प्रवेश गर्नुको कारण बताएकी छिन् । सोमीले भनेकी छिन्, ‘सलमान खानसँग विवाह गर्ने सपना यसको मुख्य कारण थियो ।’ उनी १६ वर्षको उमेरमा अभिभावकसँग जिद्दी गरेर भारत आएकी थिइन् ।

सोमीले आफूलाई कहिल्यै फिल्म क्षेत्रमा लाग्छु भन्ने नलागेको तर, सलमान खानसँग विवाह गर्ने सपना देखेकै कारण यस क्षेत्रमा लागेको बताएकी छिन् । ‘सन् १९९१ को कुरा हो । त्योबेला म जम्मा १६ वर्षकी थिएँ’, उनले भनेकी छिन्, ‘मैले सलमानको फिल्म ‘मैने प्यार किया’ हेरेकी थिएँ । अब म यही केटासँग मात्र विवाह गर्छु भन्ने योजना बनाएँ ।’

सोमीले भनेकी छिन्, ‘ममीलाई भोलिपल्ट नै भारत जान्छु भनेँ । उहाँले मान्नु भएन । सलमान खानसँग विवाह गर्न मन छ । त्यसैले म भारत जानैपर्छ भन्दै ममीलाई फकाएँ ।’ सोमीको जिद्दीपछि आमाले बुवासँग कुरा गरिन् । सोमीकी आमा इराकी हुन् । बुवा पाकिस्तानी हुन् ।

सोमीका अनुसार उनकी आमाले बुवासँग आफ्नो नातेदार भेट्न मुम्बई जाने रहर भएको बताइन् । उनीहरू राजी भए । सोमी मुम्बई प्रवेश गरिन् । मुम्बईमा सोमी पाँचतारे होटलमा बसिन् । त्यहाँ मान्छेहरू उनको मजाक उडाउन थाले । किनभने सोमी त्यतिञ्जेल संघर्षरत अभिनेत्री थिइन् । सोमीले सबै कुरा बेवास्ता गरिन् ।

मुम्बई आएर सोमीले सन् १९९१ देखि १९९८ सम्ममा थुप्रै मोडलिङ प्रोजेक्टमा काम गरिन् । सोमीले अन्त (१९९४), कृष्ण अवतार (१९९३), आओ प्यार करे (१९९४) लगायत १० फिल्ममा अभिनय गरिन् । फिल्म क्षेत्रमा प्रवेशसँगै सोमी र सलमान खानले डेट गर्न थाले । उनीहरूको सम्बन्ध सन् १९९९ मा टुट्यो । सम्बन्ध टुटेपछि सोमी अमेरिका फर्किन् । आफ्नो पढाइलाई निरन्तरता दिन थालिन् ।

सोमीले आफू यतिबेला सलमान खानसँगको सम्पर्कमा नरहेको बताएकी छिन । सोमीले सलमान खानकी आमा सलमा खानसँग भने पछिल्लो वर्ष भेटेकी थिइन् । सलमान र सोमीले झण्डै ८ वर्ष एक अर्कासँग डेट गरेका थिए । एजेन्सी