१० कार्तिक २०८३, मंगलबार

बालुवा उत्खननलाई रोक्न खोज्दा ढुङ्गा प्रहार, दुई प्रहरी घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ३० माघ । पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव घाइते रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

आयुषको देब्रे कानमा चोट लागेको अस्पताल आकस्मिक विभागका प्रमुख डा.उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार अर्का घाइते नरेशको देब्रे हातको हड्डी भाँचिएको र खुट्टामा चोट लागेको छ । दुवै खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

भारतीयले ओरिया खोलामा आज बालुवा उत्खनन गरेर लैजाँदै गरेका अवस्थामा भारतीय ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरु घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले स्थिति सामान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले बताए ।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टि र पिडारीगुठीको संयुक्त टोलीले बालुवा लोड गरिरहेका तीनवटा भारतीय ट्र्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको बताइएको छ ।

ट्र्याक्टर खोलामा फसेपछि भारतीय गाउँ गदियानी भङ्गहाका बासिन्दाले लाठी, भाटा, बेल्चा तथा ढुङ्गाले हान्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

साथै नियन्त्रणमा लिएका ट्र्याक्टर पनि भारतीयले खोसेर लगेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पिडारीगुठीका सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसीले जानकारी दिए । –रासस