
काठमाडौं, २९ माघ । राज्यविरुद्धको कसुरमा आज बिहीबार पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीमाथि ७ वर्षको जेल सजाय र ७० हजार रुपैयाँ जरीवाना तोकिन सक्ने छ ।
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ अनुसार उनलाई उक्त सजाय हुन सक्ने सम्भावना छ । किनभने झाँक्रीलाई बिहीबार पक्राउ गर्नुअघि थमाइएको पुर्जीमा राज्यविरूद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ ।
त्यस आधारमा उनलाई ७ वर्ष जेल सजाय वा ७० हजार रुपैयाँ जरीवाना वा दुवै सजाय हुन सक्ने छ ।
दफा ५८ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन नहुने’ उल्लेख छ ।
उक्त दफाअनुसार कसुर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।
केही दिनअघि गोरखाको एक विरोध कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे चर्को र अमर्यादित टिप्पणी गरेकी थिइन् ।
सोही टिप्पणीलाई आधारमा बनाएर प्रहरीले उनलाई बिहीबार उनकै निवासबाट पक्राउ गरेको हो ।















प्रतिक्रिया