
काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले अन्ततः प्रहरीलाई गिरफ्तारी दिने भएकी छिन् ।
कार्यकर्ताहरुको अवरोधपछि बल्लतल्ल उनको निवासमा छिरेको प्रहरीले पक्राउ पुर्जी बुझाएसँगै झाँक्री गिरफ्तारीको मनस्थितिमा पुगेको र गिरफ्तारी दिने बताएकी हुन् ।
तर, प्रहरीसँगको केहीबेरको छलफल र उपस्थिति कार्यकर्तालाई सम्बोधन गर्ने तयारी उनले गरिरहेकी छिन् । अहिले उनी प्रहरीका एकजना डीएसपीसँगै निवासभित्रै छलफल गरिरहेकी छिन् ।
यसअघि उनलार्ई पक्राउ गर्न गएको प्रहरीमाथि उनका कार्यकर्ताबाट आक्रमण भएको थियो । कार्यकर्ताको आक्रमणबाट एकजना सादा पोशाकका प्रहरी घाइते भएको बताइएको छ ।
राष्ट्रपति संस्थामाथि लाञ्छना लगाउनेगरी झाँक्रीले अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले बोलाएको थियो । तर आफै प्रहरीकोमा नगएकी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको शंखमुलस्थित निवासमै पुगेको थियो ।
तर, प्रहरीसँगै पुगेको कार्यकर्ताको भीडले झाँक्रीलाई पक्राउ गर्नबाट अहिलेसम्म बचाइराखेको छ भने पक्राउका लागि अगाडि बढेको एकजना प्रहरी जवानमाथि कुटपीट गरेर घाइतेसमेत तुल्याएको छ ।
कार्यकर्ताहरुले अहिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नारा लगाइरहेका छन् ।















प्रतिक्रिया