८ कार्तिक २०८३, आइतबार

जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन सिफारिस

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २९ माघ । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन सिफारिस गरेको छ ।

दमौलीमा बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जोशीको कारबाही फिर्ता लिन केन्द्रीय कार्यसमितिसँग अनुरोध गर्ने निर्णय गरेको हो । वडाबाट जोशीमाथि कारबाही फुकुवाको सिफारिस आएको भन्दै केन्द्रमा कारबाही फूकुवाका लागि सिफारिस गरेको सभापति बैकुण्ठ न्यौपानेले बताएका छन् ।

सभापति न्यौपानेले भने, ‘जोशी सरबाट कुनै निवेदन आएन । वडाबाट कारबाही फुकुवाका लागि सिफारिस आएकाले त्यसलाई केन्द्रमा पठाउने निर्णय गरेका हौं ।’

नेता जोशी समूहका केही नेता र सभापति न्यौपानेबीच कुराकानी भएको चर्चा चलेको थियो । जोशीका समर्थकहरूसँग कुराकानी भएको सभापति न्यौपानेले स्वीकार गरेका छन् ।

‘केही नेताहरूले पनि फिर्ताका लागि पहल होस् भनेर भन्नुभएको थियो’, न्यौपानेले भने, ‘पार्टी सभापतिको हैसियतले बदलिंदो परिस्थितिमा कारबाही फुकुवाका लागि सिफारिस हुनुपर्छ भन्ने लागेर सिफारिस गरेका हौैँ ।’

कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे नेतृत्वको समितिले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको भन्दै जोशीलाई अनुशासनको कारबाही गरेको थियो ।

तनहुँ जिल्ला कार्यसमितिको सिफारिसका आधारमा केन्द्रले जोशीलाई पाँच वर्षसम्मका लागि सदस्यताबाट निष्कासनको निर्णय गरेको थियो ।

जोशीले आफू आधिकारिक उम्मेदवार पनि नरहेकाले कारबाहीको औचित्य नभएको जिकिर गर्दै आएका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जोशीलाई कारबाही गरेर पार्टीबाट निस्काषन गर्न ठूलो भूमिका खेलेका थिए । पौडेलकै उजुरी र दवावमा जोशीलाई पार्टीबाट अनुशासनको कारबाही गरेर निकालिएको थियो ।

सभापति शेरबहादुर देउवालाई पौडेलले दवाव दिएर कारबाही गराएका हुन् । देउवा र पौडेलबीच कैलालीका कांग्रेस नेता पुष्कर ओझा र तनहुँका जोशीलाई कारबाही गर्ने सेटिङ भएअनुसार अनुशासनको कारबाही गरेर पार्टीबाट हटाइएको थियो ।

ओझाले आरजु राणालाई निर्वाचनमा हराउन भूमिका खेलेको आरोप छ । ओझा वरिष्ठ नेता पौडेल निकट मानिन्छन् । पौडेलले ओझालाई कारबाही गर्न अनुमति दिएपछि जोशीलाई देउवाले कारबाही गर्न अनुमति दिएको चर्चा कांग्रेसभित्र छ ।

जोशीलाई तनहुँ जिल्ला कार्यसमितिले कारबाही फिर्ता गर्न माग गरेपछि वरिष्ठ नेता पौडेललाई तनाब भएको छ । पौडेल र जोशीबीच तनहुँमा ठूलो झगडा छ ।

काठमाडौंको बोहराटारमा बस्दै आएका पौडेल जोशीलाई कांग्रेसमा राख्न चाहँदैनन् । तनहुँ जिल्ला कार्यसमितिको निर्णयले बोहराटारमा बस्दै आएका पौडेललाई तनाब बढाइदिएको छ ।