२ कार्तिक २०८३, सोमबार

ट्रम्प महाभियोगः सुनुवाइ जारी राख्नुपर्ने पक्षमा सिनेटद्वारा मतदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, २८ माघ । अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ ।

सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो । विपक्षमा ४४ जनाले मत दिएको बीबीसीले जनाएको छ ।

यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ । सुनुवाइ जारी राख्नुपर्ने पक्षमा छजना रिपब्लिकनले पनि मतदान गरेका थिए ।

सुनुवाइ प्रक्रियालाई निरन्तरता दिनका निम्ति सामान्य बहुमत चाहिएको थियो । गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो ।

हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई उक्साएको उनीमाथि आरोप छ । ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आएका छन् ।

उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । संसद्‌ भवनभित्र रहेका सांसदहरू लुक्नुपरेको थियो । अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन् ।

त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन् । ट्रम्पका वकिलहरूले संसद्‌ भवनमाथि आक्रमणका लागि उनले नउक्साएको दाबी गरेका छन् ।

उनीहरूमध्ये एक डेविड सोनले त्यसको आलोचना गर्दै महाभियोग प्रक्रियालाई राजनीतिक अस्त्र बनाइएको दाबी गरे । बुधवारबाट सुनुवाइले फेरि निरन्तरता पाउनेछ ।

ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गर्दै आएका छन् । उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ ।

पछिल्लो राष्ट्रपतीय चुनावयता थप अमेरिकीहरूलाई कट्टरपन्थतर्फ डोर्‍याइएको भन्दै विज्ञहरूले राजनीतिक हिंसाको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् ।

एक महिना लामो खोजबिनपछि संसद्‌ भवनमाथि आक्रमण गरेको आरोपमा २२१ जनाविरुद्ध अभियोग दायर गरिएको विवरणहरूमा जनाइएको छ ।