१ कार्तिक २०८३, आइतबार

कोरोना कालमा रेमिट्यान्स धेरै भित्रियो, रोजगारीमा जाने घटे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ ।

विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास हुनुअघिको अवस्थाभन्दा अहिले नेपाल भित्रिने रेमिट्यान्स रकममा निकै सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो । यसलाई अमेरिकी डलरमा हिसाब गर्दा नेपाल भित्रिने विप्रेषण आप्रवाह दर ६ दशमलव ७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढे पनि वैदेशिक रोजगारीमा जानेहरूको अवस्था भने यस अवधिमा निकै कमजोर देखिएको छ । चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपाली कामदारको संख्या ७७ दशमलव ६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७ दशमलव ७ प्रतिशतले बढेको थियो ।

यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिएर विभिन्न मुलुकतर्फ जाने नेपाली कामदारको संख्या यस अवधिमा ६८ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या शून्य दशमलव ५ प्रतिशतले बढेको थियो । अहिले कोरोना महामारीको प्र्रभावका कारण वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यो अवधिमा विदेशी मुद्राको सञ्चिति १५ खर्ब नजिक पुगेको देखिन्छ । चालु आवको ६ महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिनामा ६ दशमलव ६ प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा कुल १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकामा गत पुस मसान्तमा ९ दशमलव ७ प्रतिशतले वृद्धि भई १२ अर्ब ७८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आवको बितेका ६ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव ९ महिनाको वस्तु आयात र १२ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३९.७ प्रतिशत, १०५.२ प्रतिशत र ३२.२ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरू क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा गत पुस मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १३ खर्ब १८ अर्ब ६६ करोड पुगेको छ । मधुजंग पाण्डेले राजधानी दैनिकमा खबर लेखेका छन् ।