जनकपुरधाम, २६ माघ । आरती सदा १६ वर्षकी भइन्। मुसहर समुदायमा यतिको उमेरमा छोरीहरूको बिहेवारी भएर बालबच्चा पनि भइसक्छन्। तर, आरतीे अविवाहित छिन्। उनको बिहेका लागि परिवारमा कुरा नभएको होइन। पछिल्लो दुई वर्षदेखि आमाबुवाले बिहे गराउन प्रयास गरिरहेका छन्।
गत वर्ष त केटा खोजेर ल्याइसकेका थिए। तर, आफू यति सानो उमेरमा बिहे नगर्ने भन्दै विरोधमा उत्रिएकी थिइन्, आरती।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका इमली टोलकी आरती विद्यालय गएकी छैनन्। यो समुदायमा छोरीलाई पढाउने चलन छैन। तर, केही संघसंस्थाले बेला–बेला टोलमा जनचेतनामूलक कार्यक्रम गर्दा उनले २० वर्षपछि मात्रै बिहे गर्नुपर्छ भनेर थाहा पाएकी हुन्।
‘सानोमा बिहे ग¥यो भने छोरीहरूको शरीरमा नराम्रो असर पर्छ। तिनीहरूले बच्चा पाउँदा मर्न पनि सक्छन् भनेर म्यामहरूले सिकाउनुभएको थियो’, जनकपुरमा एक कार्यक्रममा भेटिएकी आरतीले भनिन्, ‘घरमा त आमाले धेरै गाली दिनुहुन्छ। उमेर धेरै भयो भने केटा नै पाउँदैन भन्नुहुन्छ। तर, मैले २० वर्षपछि नै बिहे गर्छु भनिसक्या छु।’
उनले आफ्नो मात्रै होइन, दुई साथी अनिता सदा र केशिया सदाको बालविवाह रोकिन्। साथीहरूका आमाबुवालार्ई धेरै सम्झाइबुझाइ गरेपछि उनीहरूले तत्काल बिहे रोकेको आरतीले सुनाइन्।
सप्तरीको खड्ग नगरपालिका–४ की सलिता सदाको बिहे पनि १५ वर्षकै उमेरमा गर्न परिवारले केटा खोजेका थिए। ‘वैदेशिक रोजगारमा गएर बुवाले जोरजाम गरेको पैसो सबै मेरो बिहेमा दाइजो दिन तयार हुनुभएको थियो’, सलिताले आफ्नो बालविवाहविरुद्धको कथा सुनाउँदै भनिन्, ‘म र मेरो बहिनी सरिता दुवैको बिहे एकैपल्ट गर्ने तयारी थियो। तर, मैले विरोध गरेँ। केटाको आमाको फोन नम्बर पत्ता लगाएर सोझै फोन गरेँ र आफू बिहे गर्न तयार नरहेको बताएँ। त्यसपछि बिहे रोकियो ।’ मनिका झाले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेकी छिन ।















प्रतिक्रिया