
काठमाडौं, २५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् ।
‘कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछु’, मन्त्री गुरुङले भने, ‘सरोकारवाला निकायले दिएको सुझावको आधारमा सरकारले राहत कार्यक्रम ल्याउने छ ।’
मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुझाव दिन सरोकारवाला निकायलाई आग्रह समेत गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आइतबार काठमाडौंमा आयोजित ‘आम सञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे समयमै सुझाव दिन सरोकारवालासँग आग्रह गरेका छन् ।
पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुझावको अपेक्षा गरेको पनि उनको भनाइ छ । उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको विश्वास समेत दिलाएका छन् ।















प्रतिक्रिया