
काठमाडौं, २५ माघ । सरकारले कोभिड–१९ विरुद्ध भोलि सोमबारदेखि दोस्रो चरणको खोप अभियान शुरू गर्ने भएको छ ।
दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पताल केन्द्रबाट दोस्रो चरणको खोप लगाइने छ ।
जानकारी अनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने छ ।
दोस्रो चरणको यो अभियान आगामी शुक्रवारसम्म जारी रहने बताइएको छ ।
खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ । खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ ।
यसबाहेक अरु समूहका व्यक्तिलाई पनि खोप लगाउनेबारे आज आइतबार छलफल गर्ने मन्त्रालयको तयारी रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।















प्रतिक्रिया