
काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ एवं प्रतिनिधिसभाकी पूर्वसदस्य निरु पालले जनताले चाहेको अधिकार विकेन्द्रीकरण गरेर संघीयताको खर्च घटाउनुपर्ने बताएकी छिन् ।
उनले विद्यमान प्रदेशसभा खारेज गरेर संघीयताका नाममा भइरहेको खर्च घटाउनुपर्ने सुझाव प्रधानमन्त्रीलाइ दिएकी छिन् । ‘संघीयता’ नामको सेतो हात्ती नेपालले धान्न नसक्ने भन्दै उनले प्रदेशहरू खारेज गरेर बरू प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्ता कुरा सार्वजनिक गरेकी हुन् । प्रदेश खारेज गरेर स्थानीय तहलाई बलियो बनाउनुपर्ने उनको धारणा छ ।
‘मलाई पार्टीले कारबाही गरे पनि गरोस्, कुनै दिन टिकट पाएछु र जनताले हराएछन् भने पनि ठिकै छ सहुँला’, पालले लेखेकी छिन्, ‘तर हाम्रो जस्तो सानो मुलुक आर्थिक स्थिति कमजोर भएको मुलुक । प्रत्येक नेपालीको टाउकोमा विदेशीको ऋण छ । प्रधानमन्त्रीज्यू ! यो संघीयता नामको सेतो हात्ती हाम्रो मुलुकले धान्दैन ।’
पद पाएर मुठ्ठीभरका नेता खुशी हुँदैमा जनताले सुखानुभूति गर्न नसक्ने भन्दै उनले अगाडि लेखेकी छिन्– ‘मुठ्ठीभरका नेता त खुशी छौं, कोही मुख्यमन्त्री, कोही प्रदेशमन्त्री, कोही सांसद छौं । तलब–भत्तामै देशको ढुकुटी नसिध्याऔं !’
जनताको घरदैलोसम्म सेवा पुर्याउनु मुख्य कुरा रहेको भन्दै उनले थपेकी छन्, ‘जनताले चाहेको अधिकार विकेन्द्रीकरण हो बरु स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाऔं, जनताको घरदैलोमा सर्वसुलब ढंगले सेवा पर्याऔं ।’















प्रतिक्रिया