
सुनसरी, २२ माघ । आफ्नै पक्षका नेता कार्यकर्ताको समेत समर्थन नपाएको प्रचण्ड–माधव समूहको आमहड्ताल छिटफुट घटनाबाहेक प्रभावहीन देखिएको छ ।
तर, कुनै–कुनै स्थानमा भने कार्यकर्ताहरुको बाक्लो उपस्थितिका कारण सवारी आवागमन ठप्प हुनाका साथै जनजीवन प्रभावित पनि बनेको छ ।
यसैबीच धरानको सुनसरीमा भने मजदुरहरुले बन्द र बन्दकर्ताको प्रतिवाद गरेका छन् । मजदुरहरुले प्रतिवाद गर्दा केहीबेर यहाँको अवस्था असमान्य समेत बन्न पुग्यो ।
बन्दकर्ताले एउटा टेम्पोलाई रोकेर लात्तीले हान्न थालेपछि यहाँका मजदुरहरु एकताबद्ध भइ बन्दकर्ताको प्रतिकार गरेका छन् । जसबाट विवाद उत्पन्न हुँदा भानुचोकमा बन्दकर्ता र मजदुरबीच झडप समेत भएको हो ।
टेम्पो रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो । तर, अहिले भने सो क्षेत्रको अवस्था सामान्य रहेको छ ।
टेम्पोचालकलाई दुर्व्यवहार गरिएको भन्दै यातायात मजदुरहरू प्रचण्ड–माधव समूहले गरेको हड्तालको विराधमा उत्रिएका हुन् । दुवै पक्षबीच झडप भए पनि प्रहरीले दुर्घटना हुनबाट जोगायो ।
झडपलगत्तै बन्दकर्ताहरुले टायर बाल्न खोजेका थिए । तर, मजदुरहरुले खोसेर फ्याँकिदिए । मजदुरले टायर खोसेर फाल्ने क्रममा बन्दकर्ता र मजदुरबीच टायर तानातान हुँदा दुवै पक्षका केही सामान्य घाइते भएको बताइएको छ ।
यसैबीच पानीको गाडीको सिसा फोडेको भन्दै प्रचण्ड–माधव समूहका राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयोजक विजय तामाङ पक्राउ परेका छन् ।
हड्तालका क्रममा पानी, दूध, एम्बुलेन्स लगायत अती आवश्यकीय गडीलार्इ अवरोध नगर्ने भनिए पनि तामाङले पानीको गाडीको सिसा फोडेकोले पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।















प्रतिक्रिया