१ कार्तिक २०८३, आइतबार

मुद्दामा ढिलासुस्ती, शपथमा हतारो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै नेतृत्वको संवैधानिक इजलासमा दुई मुद्दा विचाराधीन रहेको अवस्थामा संवैधानिक निकायका ३२ पदाधिकारीलाई शपथ गराएका छन् । संवैधानिक परिषद्को बैठकमा उपस्थित नहुने सन्देश मंगलबार साँझ पठाएका प्रधानन्यायाधीश जबराले भोलिपल्ट बिहानै उनीहरूलाई शपथ गराएका हुन् ।

सिफारिसबारे चौतर्फी प्रश्न उठिरहेका बेला संवैधानिक परिषद् सचिवालयको पत्रका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई बुधबारै नियुक्त गरेकी थिइन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, संघीय संसद्को संयुक्त बैठक र समिति कार्यसञ्चालन नियमावली खारेजीको माग राखी दर्ता गरिएका दुई निवेदन सर्वोच्च अदालतमा जबराकै नेतृत्वको संवैधानिक इजलासमा विचाराधीन छन् । यी दुई विषय अहिलेको संवैधानिक पदाधिकारी नियुक्तिसँग प्रत्यक्ष सरोकार राख्ने विवाद हुन् । सम्बन्धित मुद्दा अदालतमा विचाराधीन भएको अवस्थामा प्रधानन्यायाधीश शपथ गराउन जानु गलत भएको वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बताए । ‘सर्वोच्च अदालतमा त्यही मुद्दा आफ्नै नेतृत्वको इजलासले हेर्नुपर्ने, त्यसैबारे बहस सुन्ने भएपछि आज गरेको काम गैरजिम्मेवारपूर्ण भयो,’ उनले कान्तिपुरसँग भने, ‘उहाँले कि मुद्दा हेर्नु हुँदैन, हेरेको भए जानु हुँदैनथ्यो । यो विषयमा इजलासमै प्रश्न उठाए उहाँको धरातल र निर्णय गर्ने क्षमता कहाँ पुग्छ ? देशको प्रमुख न्यायकर्ताले यस्ता आचरण गरेपछि जनता न्याय खोज्न कहाँ जाने ?’ कृष्ण ज्ञवालीले कान्तिपुर दैनिकमा खबर लेखेका छन् ।