काठमाडौं, १८ माघ । संसद विघटन भएपछि नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । एउटा समूह संसद पुनःस्थापनाको पक्षमा छ । अर्को समूह निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा छ ।
सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आउने फैसलालाई मानेर अगाडि बढ्नुपर्ने पक्षमा छन् । कांग्रेसको नेतृत्वमा बनेको संविधानका विषयमा सर्वोच्च अदालतले दिने फैसलालाई मान्नुपर्ने पक्षमा देउवा छन् । अर्को भाषामा भन्ने हो भने देउवाले संसद विघटनको विषयलाई लचक भएर हेरेका छन् । देउवा निर्वाचनको पक्षमा छन् । प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका कारण नेपाल कम्युनिस्ट पार्टी नेकपा फुटाएको आरोप खेप्दै आएका देउवाको कार्यकर्ताका बीच लोकप्रियता बढेपछि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र गगन थापाहरूलाई मन परेको छैन ।
वरिष्ठ नेता पौडेल, सिटौला र थापाहरू संसद पुनःस्थापनाको पक्षमा छन् । उनीहरूले प्रधानमन्त्री ओली र नेकपाको सरकारविरुद्ध उथलपुल हुने आन्दोलन चलाउन माग गरेका छन् ।
पौडेल, सिटौला र थापा समूहले निर्वाचनमा जान खुट्टा कमाएका छन् । उनीहरूले संसद पुनःस्थापना गरेर जानुपर्ने पक्षमा अडान राखेका छन् । पौडेल, सिटौला र थापाहरूको कुरा मानेर जाने हो भने कांग्रेस पुनःस्थापित हुने संसदमा तेस्रो पोजिशनमा हुनेछ । पौडेल–थापाहरू कांग्रेसलाई तेस्रो पोजिशनमा राख्न किन चाहेका छन् भनेर पार्टीका कार्यकर्ताहरूले प्रश्न उठाएका छन् ।
संसद पुनःस्थापनाको पक्षमा सिटौला समूहले शुक्रबार काठमाडौंको रत्नर्पाकस्थित शान्तिबाटिकामा सानो आकारमा विरोध प्रदर्शन समेत गरेको छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ को ब्यानरमा गरिएको विरोध सभामा सिटौला समूहका नेताहरूको मात्रै उपस्थिति रहेको थियो ।
सम्बोधन गर्नेमा नेता सिटौला, थापाका साथै उमाकान्त चौधरी, भीमसेनदास प्रधान, प्रदीप पौडेल, उत्तम चापागाइँलगायत नेताहरू रहेका थिए । कांग्रेस नेता थापा विरोध सभाको सबैभन्दा आकर्षणको केन्द्र बनेका थिए ।
विरोध सभामा प्रमुख अतिथि सिटौलालाई बनाए पनि थापालाई नै केन्द्रित गरेर कार्यक्रमको रुपरेखा तयार पारिएको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यका कांग्रेसका हस्तीका रुपमा चिनिएका नेता प्रकाशमान सिंहलाई बोलाइएको थिएन । सिंह निकटका नेताहरूलाई प्रवेश गर्न पनि दिइएको थिएन ।
त्यति मात्रै होइन सिटौला समूहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई पनि बोलाएको थिएन ।
समग्रमा भन्नुपर्छ शुक्रबारको शान्तिबाटिकाको विरोध सभा नेता थापाले एकलौटी रुपमा गरेको अनुभूति कांग्रेसका कार्यकर्ताहरूले गरेका थिए । थापाले ‘म मात्रै कांग्रेस हुँ, मैले जे भन्यो त्यही लागू गर्नुपर्छ’ भन्ने सन्देश दिने गरेर अभिव्यक्ति दिएका छन् । उनले सभापति देउवालाई ‘लड्डु कांग्रेस’ भनेर सार्वजनिक स्थानबाट मानमर्दन गरेका छन् । पार्टीका नेताहरूसँग असन्तुष्टि छ भने पार्टी बैठकमा आलोचना गर्नुपर्नेमा थापाले कांग्रेसको नीति, आचार संहिता र विधानको प्रतिकूल हुने गरेर दिएको अभिव्यक्तिले नेताहरूभित्र खैलाबैला भएको छ ।















प्रतिक्रिया