काठमाडौं, १५ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार बिहान १० बजे बाँडफाँट हुने भएको छ ।
बैंकको आईपीओका लागि योग्य आवेदक सबैले ५० कित्तासम्म शेयर प्राप्त गर्ने भएका छन् । कम्पनीले बुधबार गरेको आईपीओको प्री–अलोटमेन्टमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको उल्लेख छ ।
कुल आवेदकमध्ये ६ हजार ७६ जनाको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द भएको छ । प्री–अलोटमेन्ट अनुसार १० कित्तादेखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिम नै शेयर पाउने जानकारी शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले दिएको छ ।
यसरी बाँडफाँट गरेर बाँकी रहेको २० लाख ८६ हजार कित्ता शेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरूमा गोलाप्रथाद्वारा बाँडफाँट गरिने छ । यसरी गोलाप्रथा गर्दा करिब २ लाख ८ हजार ६०० जनाले ६० कित्ताका दरले बैंकको शेयर पाउने छन् ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।