
काठमाडौं, १३ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर भण्डारीले लगाउने भएका छन् ।
भोलि बुधबारदेखि शुरु हुने खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त अवसरमा अस्पतालका डा. भण्डारीले बुधबार (भोलि) बिहान १० बजे कोरोनाविरुद्धको पहिलो खोप ग्रहण गर्न लागेका हुन् ।
यस्तै दोस्रो खोप सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले लगाउने भएका छन् । त्यसपछि टेकु अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाइने छ ।
टेकु अस्पतालबाट एक हप्ताको अवधिमा करिब ३ हजार ५ सय फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप दिइने तयारी छ ।
काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, भक्तपुर अस्पताल, शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, काठमाडौं मेडिकल कलेज, शहिद गंगालाल अस्पताल गरि ११ वटा अस्पतालबाट खोप दिने कार्यक्रम छ ।
साथै बुधबार देशभरका ६२ वटा अस्पताल र १२० वटा खोप केन्द्रबाट खोप एकैसाथ खोप अभियान शुरू गरिने तयारी सरकारको छ ।















प्रतिक्रिया