बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

‘ब्रोइलर’हरूद्वारा सडक आन्दोलन, एनजीओ–आइएनजीओका मान्छेहरूको घुसपैठ

दैनिक नेपाल २०७७ माघ १३ गते १०:२४

काठमाडौं, १३ माघ । काठमाडौंको सडकमा कथित ‘वृहत् नागरिक आन्दोलन’का नाममा प्रदर्शन शुरु भएको छ ।

२०–२५ जनाको संख्यामा नागरिक आन्दोलनको नाममा देखिएका अधिकांश अनुहारहरू एनजिओ, आईएनजिओ र प्रचण्ड–माधव समूह निकट देखिएका छन् ।

अपवादलाई छाड्ने हो भने नागरिक समाजका नाममा सडकमा देखिएका अनुहार एनजिओ र आईएनजिओसँग निकट रहेका छन् । नागरिक आन्दोलनको अगाडि दिएका युग पाठक एनजिओ र आइएनजिओका साथै प्रचण्ड निकट मानिन्छन् ।

उनीसँग नागरिक आन्दोलनमा देखिएका चर्चित अनुहार रघुजी पन्तको छ । पन्त नेकपा ‘प्रचण्ड–माधव’ समूहका स्थायी समिति सदस्य हुन् । प्रधानमन्त्री केपी ओलीका कट्टर आलोचक खगेन्द्र संग्रौलापनि एनजिओ र जातिवादी आन्दोलनका रक्षक हुन् ।

मधेस मिडिया हाउसका सञ्चालक एवम् वुद्धिजीवी राजेश अहिराजले कथित नागरिक समाजको आन्दोलनलाई ब्रोइलर कुखुराको संज्ञा दिएका छन् । ‘ब्रोइलर नागरिक समाजले लोकल हित रक्षा गर्न सक्दैन’, अहिराजले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

नागरिक आन्दोलनका नाममा घुस पैठ भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको भन्दै सबैले आलोचना गरेका छन् । संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

यस्तो अवस्थामा अदालतलाई समेत प्रभावमा पार्ने गरेर कथित वृहत नागरिक आन्दोलनका नाममा एनजिओ र आईएनजिओमा संलग्न अनुहारहरूले सडकमा उत्पात मच्चाएको आरोप छ ।

पश्चिमा राष्ट्रहरूको लगानी रहेका एनजिओ र आईएनजिओको उक्साहटमा कथित नागरिक आन्दोलनले सडकमा उत्रिएर प्रदर्शन गरेको भन्दै आलोचना हुन थालेको छ ।

वृहत नागरिक आन्दोलनका नाममा सडकमा देखिएका अनुहारहरू एनजिओ र आईएनजिओ तथा जातीय आन्दोलनमा सहभागी भएर देशमा उथलपुथल ल्याउनेहरू रहेको आरोप छ ।

प्रचण्ड समर्थक रहेको आरोप खेप्दै आएका युग पाठकद्वारा सोमबार जारी प्रेस विज्ञप्तिमा रहेका अधिकांश व्यक्तिको नामहरू एनजिओ र आईएनजिओसँग जोडिएकाहरू रहेका छन् ।

घाइते भनेर दिइएका नामहरूमा संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्रध्यापक रमेश भट्टराई, निर्गराज जैसी, जनक ढुंगाना, सुरज तामाङ, कुलदीप शर्मा, सुनिल श्रेष्ठ, गोविन्द भण्डारीलगायतका व्यक्तिहरू रहेका छन् ।

आन्दोलनमा सहभागी हुनेहरूमा डा.गोविन्द केसी, खगेन्द्र संग्रौला, मोहना अन्सारी, नारायण वाग्ले, प्रवीण कोयू, प्रदीप देवानलगायत रहेका छन् ।

एनजिओ र आईएनजिओमा आवद्ध कथित वृहत नागरिक आन्दोलनले तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् ।

पश्चिमा राष्ट्रहरू र जातीय आन्दोलनलाई बढावा दिएर विगतमा उथलपुथल ल्याएकाहरूबाट प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्ने कार्यमाथि विभिन्न खालका आशंकाहरू उब्जाइदिएको छ ।

कथित नागरिक आन्दोलनको बहानामा भएको सोमबारको सडक प्रदर्शनमा प्रदर्शनकारीभन्दा धेरै सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित