काठमाडौं, १३ माघ । ‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका नाममा शपथ लिन्छु ।’ अर्थात् उनले ‘ईश्वर’ शब्द हटाएर शपथ लिए ।
२०७२ सालमा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा पनि ओलीले यस्तै गरेका थिए । भगवान्को साटो देश र जनताका नाममा शपथ खाएका उनै प्रधानमन्त्री ओली सोमबार सबेरै धर्मपत्नी राधिका शाक्य, सहयोगी र सुरक्षाकर्मीसहित पशुपतिनाथ मन्दिर गए, ईश्वरका नाममा सवा लाख दीप प्रज्वलन गरे र ‘विश्व शान्ति र राष्ट्र कल्याणको संकल्प पूजा’ गरे । उनले पशुपति क्षेत्रभित्र झन्डै एक घण्टा बिताएका थिए ।
ईश्वरका नाममा शपथसमेत नलिने साम्यवादी धङधङी बोकेका प्रधानमन्त्री ओली एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गर्न किन गए होलान् ? जबकि गणतन्त्र प्राप्तिपछिका कुनै पनि बहालवाला प्रधानमन्त्रीले पशुपतिमा गएर संकल्प पूजा गरेका थिएनन् ।
अर्कातर्फ, उनै प्रधानमन्त्री ओलीले आफ्नो पूर्वमान्यताविपरीत शनिबार मात्रै माओवादी ‘जनयुद्ध’ का लडाकुहरूलाई भेटेर वर्गीय विभेद अन्त्यका लागि एकजुट हुनुपर्ने बताएका थिए । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल यी दुवै कुरामा त्यति धेरै अर्थ खोज्न नहुने बताउँछन् । ‘पशुपतिमा पुगेर प्रधानमन्त्रीज्यूले त्यहाँको निर्माणबारे जानकारी लिनुभएको हो,’ रिमालले भने, ‘लोकतान्त्रिक आन्दोलनका योद्धालाई सम्मान गर्ने सरकारको नीति नै हो, यसको अर्थ सिधा छ ।’
ओली हालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष किटान गरेपछिका पहिलो प्रधानमन्त्री हुन् । छिमेकी भारतमा एउटा ठूलो धार्मिक समुदायलाई आकर्षित गर्ने उद्देश्यले धार्मिक राजनीति फस्टाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि मठ–मन्दिर जाने र पूजाआजा गर्ने चलन अरू बढाएका छन् । के त्यसैको सिको यता हुन थालेको हो ?
यहाँ पनि सीमापारिझैं धार्मिक जनमत आफूतिर तान्ने सिलसिला सरकार प्रमुखबाटै सुरु हुन लागेको हो ? कूटनीतिक मामिलाका जानकार निश्चलनाथ पाण्डे यसलाई सकारात्मक ठान्छन् । ‘भारतीय प्रधानमन्त्री पशुपतिमा गएर विशेष पूजा गर्न हुने र हाम्रा प्रधानमन्त्रीहरू पशुपति जाँदै नजाने गलत परम्परा आज (सोमबार) तोडियो,’ पाण्डेले प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओलीले यो ‘परम्परा’ तोड्ने काम सम्भवतः सोच–विचार गरेरै गरेका हुन् । पछिल्लो कालमा उनमा हिन्दु धर्म, संस्कृति र पूर्वीय दर्शनप्रति अतिरिक्त अनुराग बढेको देखिन्छ । उनी हुर्किएको कम्युनिस्ट राजनीतिको स्कुलिङ भने यसको विपरीत हो/थियो । उनी आफैंले पदीय शपथ लिँदा यो कुराको पुष्टि गरिसकेका छन् । विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम प्रधानमन्त्री ओली अचानक जान मन लागेर पशुपति नगएको टिप्पणी गर्छन् ।
‘राजनीतिज्ञका रूपमा हेर्दा हिन्दु धर्मावलम्बीहरूको ठूलो समूह छ, त्यसलाई भौतिक उपस्थितिले सम्बोधन गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई लागेको हुन सक्छ,’ गौतमले भने, ‘कम्युनिस्ट पार्टीका प्रधानमन्त्री पशुपति गएर संकल्प पूजा गरेको यो एउटा अनौठो घटना हो र यो सेन्सेटिभ कुरा पनि हो । यो घटनाबाट एक खालका मान्छेहरू खुसी भएका छन् ।’
ती ‘एक खालका मान्छे’ हरू धर्म, राज्य र राजनीति मिसिएको देख्न चाहन्छन्, जुन मान्यतालाई हालको संविधानमा उल्लिखित धर्मनिरपेक्षताको प्रावधानले अंकुश लगाएको छ । कुनै बेला ‘राष्ट्रवाद’ लाई प्रमुख एजेन्डा बनाएका प्रधानमन्त्री ओलीको बोलीमा अचेल धार्मिक अनुराग निकै झल्कन्छ । उनले केही अघि भारतीय टेलिभिजन च्यानल जीन्युजलाई दिएको अन्तर्वार्ताको अधिकांश भाग धर्म, संस्कृति र पूर्वीय दर्शनमै केन्द्रित थियो ।
‘जब पूरै दुनियाँ अँध्यारोमा थियो, त्रेतायुगमा जनकपुरमा याज्ञवल्क्य, गार्गी, अष्टावक्रलगायतका धेरै ऋषिहरू र विदुषीहरू शास्त्र र दर्शनका बारेमा, जीवन जगत्का बारेमा बहस गर्थे,’ उक्त अन्तर्वार्ताको एउटा अंशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जबकि युरोपमा धेरै पछि अरस्तुले त्यसको सुरुवात गरेका हुन् । राजा दशरथसँग १० वटा रथ थिए, त्यही भएर उनलाई दशरथ भनिएको हो ।’ आदि–इत्यादि ।
ओलीले गायत्री मन्त्र नेपालमै लेखिएको पनि बताएका थिए । ‘गायत्री मन्त्र, जुन मन्त्रको पनि मन्त्र, सर्वोच्च मन्त्र हो, त्यो कौशिक ऋषिले नेपालकै चतरामा कोसी नदीको किनारमा बसेर लेखेका थिए,’ उक्त अन्तर्वार्तामा ओलीले थप दाबी गरेका थिए । नेकपाका सांस्कृतिक विभाग प्रमुखसमेत रहेका खानेपानीमन्त्री मणि थापाले केही दिनअघि कान्तिपुरसँग ओलीले जीन्युजमा दिएको यो अन्तर्वार्तापछि नै राजनीतिक कोर्स परिवर्तन भएको बताए ।
‘ओली कमरेडले जी टीभीमा जुन अन्तर्वार्ता दिनुभयो, त्यो मौलिक नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रवाद र नेपाली संस्कृतिसित सम्बन्धित छ । त्यो अन्तर्वार्ता नेपालको राजनीतिभन्दा गहिरो छ, दक्षिण एसियाको जननी नेपाल हो भन्ने उहाँको भनाइ छ, त्यो जगमा राष्ट्रवाद खडा गर्न प्रधानमन्त्रीले खोज्नुभएको छ,’ मन्त्री थापाले आफ्ना प्रधानमन्त्रीको भनाइको व्याख्या गर्दै भने, ‘ओलीले धार्मिक दर्शनलाई राजनीतिक रूपमा सिफ्ट गर्नुभएको छ । यसको खास अर्थ छ ।’ विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।















प्रतिक्रिया