काठमाडौं, १२ माघ । सरकारले पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार फोहोर व्यवस्थापनमा खटिने संकलक तथा चालक, एम्बुलेन्स र शव वाहनका चालक/सहचालक, कोभिडको प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्वयंसेविका र वृद्धाश्रमको हेरचाहमा खटिने व्यक्तिलाई खोप दिन लागिएको हो ।
‘पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने गरी काम तीव्र भइरहेको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने । खोपको ढुवानी आइतबारदेखि सुरु भएको स्वास्थ्य सेवा विभागका आपूर्ति महाशाखा प्रमुख भीमसिंह तिंकरीले बताए । खोप लगाउनेमध्ये कुन समूहका कति छन् भन्ने यकिन विवरण भने सार्वजनिक भएको छैन । स्वास्थ्यमन्त्री त्रिपाठीले खोप लगाउने व्यक्तिको विवरण खोप केन्द्रमा सार्वजनिक गरिने बताए ।
विभागले आइतबार तीन वटा गाडीमार्फत प्रदेशमा खोप पठाएको हो । एउटामा प्रदेश १, दुई र वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुलीका लागि खोप पठाइएको विभागले जनाएको छ । अर्को गाडीमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि पठाइएको छ । पोखराका लागि छुट्टै गाडीमा पठाइएको विभागले जनाएको छ । ‘सबै प्रदेशमा सोमबारसम्म खोप पुगिसक्छ,’ तिंकरीले भने । खोप बोक्ने गाडीको निगरानी गर्न जीपीएस जडान गरिएको छ ।
‘खोप बोकेर गएको गाडी कुन बेला कहाँ पुग्यो ? उसको गति कति छ भन्ने काठमाडौंबाटै निगरानी गरिरहेका छौं,’ एक प्राविधिकले भने । प्रदेशले हरेक जिल्लालाई आवश्यक पर्ने खोप वितरण गर्नेछ । वाग्मतीका काठमाडौं, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, रसुवा र धादिङमा सोमबारसम्म खोप ढुवानी भइसक्ने उनले बताए । भक्तपुरमा आइतबार नै चार हजारभन्दा बढी डोज खोप पठाइसकेको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया