१ कार्तिक २०८३, आइतबार

बाटोमै जन्म, बाटोमै मरण

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ११ माघ । बूढीनन्दा नगरपालिका–७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माइन्। उनले यी सबै बच्चा हिउँदमा चिसो छल्न बेंसी र वर्षात्मा भोट (चीन)तिर जाने क्रममा बाटोमै जन्माएकी हुन्। तर, सात जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन्।

बूढीनन्दाकै वडा नम्बर ८ की ३८ वर्षीया डोमा गुरुङले बाटोमै ११ बच्चा जन्माइन् । तर, उनीसँग तीन बच्चा मात्र साथमा छन्। ८ जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन्। बसाइ सर्दा चिसो हुने र बच्चा पाउँदा विभिन्न समस्या हुने भएकाले बचाउन नसकेको उनको भनाइ छ ।

बिस्नाकै गाउँले तनी थापाले ७ सन्तानलाई बाटोमै जन्म दिइन्। तीमध्ये पाँच जनाको मृत्यु भयो। बाटोमा चिसो र स्याहार नपुग्दा घर फर्किंदासम्म मृत्यु भएको उनले बताइन्। उनले सुत्केरीका बेला न सन्तुलित खाना पाइन् न त आराम गर्न नै ! एकातिर आफ्नो स्वास्थ्य कमजोर भएको र अर्कातिर बच्चालाई जोगाउन नपाएको उनले दुखेसो पोखिन्।

हिमाली गाउँपालिका–३ बौडीकी जौमा थापा सपरिवार कात्तिक अन्तिम साता चिसो छल्न अछामतिर बसाइ सरिन्। उनकी पाँच महिनाकी छोरी बाटोमा बिरामी परिन्। त्यसको एक–दुई दिनमै छोरीको बाटोमै मृत्यु भयो। त्यसअघि दुई बच्चा जन्माएकी उनले पहिलो सन्तान वर्षात्मा चीनतिर जाँदा गुमाउनुपरेको उनले बताइन्।

बाजुराका भोटे जनजाति तथा भेंडापालक किसान परिवार चिसो छल्न र भेंडा चरिचरनका लागि लेक–बेंसी गर्छन्। लेक–बेंसी गर्दा धेरै शिशुको बाटोमै मृत्यु हुने गरेको नेपाल भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष बुद्धिसिंह भोटेले बताए।

महासंघका केन्द्रीय पार्षद नृप थापा (भोटे)का अनुसार भेंडा, च्यांग्रा र सपरिवार हिउँदका ६ महिना बेंसी झर्ने भएकाले अधिकांश महिलाले बाटोमै बच्चा जन्माउने गरेका हुन्। तीमध्ये धेरै बच्चाको बाटोमै मृत्यु हुने गरेको थापाको भनाइ छ।

धेरै बच्चा पाउने भएकाले यी समुदायका महिलाको स्वास्थ्य कमजोर हुँदै गएको छ। कडा परिश्रम गर्नुपर्ने बाध्यताका कारण आराम गर्न नपाएको तनीले बताइन्। आफूले भारी बोक्नेदेखि सबै काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। पदमबहादुर सिंहले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।