रसुवा, १५ चैत । वेत्रावती हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १३ दशमलव सात मेगावाट क्षमताको फलाखुखोला जलविद्युत् आयोजनाको विकासका लागि वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।सो आयोजना निर्माणका लागि बैंक अफ काठमाण्डुको नेतृत्वमा सनराइज बैक, लक्ष्मी बैंक, जनता बैंक, एनसीसी बैंक र प्रभु बैंकबाट एक अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्न शुक्रबार सम्झौता भएको छ ।
आयोजनाको कुल लागत दुई अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीका अध्यक्ष दिनेशभक्त श्रेष्ठले जानकारी दिए । बाँकी ६५ करोड रुपैयाँ आयोजनाका प्रवर्द्धकहरुबाट स्वपूँजीमार्फत लगानी जुटाइनेछ ।
रसुवा जिल्लाको यार्सा र सरमथली गाविसमा यो आयोजनाका संरचनाहरु अवस्थित हुनेछन् । फलाखुखोला जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार संरचनाको कार्यसम्पन्न भइसकेको छ ।
आयोजनास्थल पुग्ने पहुँचमार्गको जग्गा अधिग्रहण लगायतका काम सम्पन्न भई क्याम्पहरुसमेत निर्माण सुरु हुने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उक्त जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् १३२ के भी सिङ्गल सर्किट लाइनमार्फत् त्रिशुली तीन बिहब हुँदै राष्ट्रिय जलविद्युत् प्रणालीमा जोडिने छ । आयोजनाको निर्माण ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो आयोजनाबाट वार्षिक कुल सातकरोड ४३ लाख ५१ हजार ६ सय २३ किलोवाट आवर ऊर्जा उत्पादन हुनेछ ।
यसमध्ये सुख्खायाममा एक करोड ११ लाख ९८ हजार ७८ किलोवाट आवर तथा वर्षायाममा छ करोड ३१ लाख ५३ हजार पाँचसय ४४ किलोवाट आवर ऊर्जा उत्पादन हुने आयोजनाले बताएको छ ।
देशले चरम ऊर्जासंकटको मार खेपिरहेको अवस्थामा फलाखुखोला जलविद्युत् आयोजनालाई युद्धस्तरमा निर्माणकार्य अघि बढाई तोकिएको समय र लागतमा सम्पन्न गराउनका लागि सबै पक्षसँग कम्पनीका अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।















प्रतिक्रिया