१ कार्तिक २०८३, आइतबार

पढाइ छाडेर भक्तपुरका इँटाभट्टमा कामगर्दै बालबालिकाहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balbalikaभक्तपुर, १५ चैत । सल्यान सिन्माङ ९ का १० वर्षीय सुरेश थापा तीन महिनाअघि भक्तपुर आइपुगे ।

सिन्माङको ढाड प्राविमा ३ कक्षामा पढदापढदै छाडेर आएका हुन् उनी । पढाइलाई निरन्तरता दिन उनी भक्तपुर आएका भने होइन ।

सरकारले पाठ्यपुस्तक र पढ्ने ठाउँको व्यवस्था गरे पनि कापी, डडपेन र खानाको व्यवस्था नभएपछि उनले कामको खोजीमा विद्यालय छाडेका हुन् ।

मंगलबार बिहान सवा नौ बजे भक्तपुरको चाँगुनारायण नगरपालिका ७ झौलेखमा पुग्दा उनी चिउरा खाइरहेका थिए । कुरा गर्ने फुर्सद पनि थिएन ।

‘बिहानभर काँचो इँटा बोक्दा भोक लागेर चिउरा खान छाप्रोमा छिरेको, ढिलो भइसक्यो’, हतारिँदै उनले भने, ‘एकछिन बस्यो कि कमाइ घट्छ ।’

बुबा डम्बरबहादुरको मृत्युपछि आमा पनि अर्कैसँग गइन । त्यसपछि उनी फुपूसँग बस्दै आएका छन् । पेटभर खान नपाएपछि नाइकेको साथ लागेर भक्तपुर आइपुगेका हुन् ।

एक पटकमा उनी १६ वटा इँटा बोक्छन् । दिनभरमा १६ पटक ओहोरदोहोर गर्नुपर्ने हुन्छ । यसबापत दुई सय कमाउँछन् । ‘पढ्ने खर्च नभएपछि कसरी पढ्नु र ?’, उनले भने, ‘अब पढ्न छाडदिन्छु ।’

सल्यानको रिम गाउँबाट नरबहादुर र उनकी श्रीमती पवित्रा पुन पनि दुई महिनाअघि भक्तपुरमा इँटा बोक्न आइपुगेको कान्तिपुर दैनिकले छापेको छ ।

उनीहरूले एक वर्षीया छोरी करिष्मा हेर्न गाउँको भुवनेश्वरी प्राविमा तीन कक्षामा पढदै गरेकी ८ वर्षीया अर्की छोरी हरिकलालाई सँगै ल्याएका छन् । बहिनी हेर्न गाउँ छाडेपछि उनको पनि पढाइ बीचैमा छुट्यो ।

सिन्धुली बर्दिबासका १२ वर्षीया रूपा विक तीन वर्षअघि तीन कक्षामा पढिरहेकी छन् । उनका आमाबुबा कामको खोजीमा इँटाभट्टा आए ।

उनी र उनका दुई बहिनी पनि सँगै आए, पढाइ छाडेर । सबैको पढाइ अघि बढ्न सकेन । पढ्ने इच्छा पूरा गर्न बालविकास समाज नामक संस्थाले भट्टामा सञ्चालन गरेको अनौपचारिक कक्षामा जान थालेकी छिन् उनी । ‘यस वर्ष त ६ कक्षामा पुग्थे, बुबाआमासँगै आएपछि मैले पढ्न पाइनँ’, उनले भनिन् ।

भट्टामा काम गर्दा छोराछोरी हेर्न गाउँमा पढदै गरेका बालबालिकालाई ज्याला दिएरसमेत ल्याएका छन् । यसमध्येका एक हुन्, दाङ उन्माङका विशाल रोक्का ।

उनी भक्तपुर आइपुगेको तीन महिना भयो । तिलसरी रोक्काले आफ्नो छोरी हेर्न २ कक्षामा पढिरहेका विशाललाई हेरालु बनाएर ल्याएका हुन् ।

पुसदेखि जेठसम्म बच्चा हेरेबापत उनले ५ हजार रुपैयाँ पाउँछन् । सल्यान रिमस्थित सिद्धि निमाविमा एउटै कक्षामा पढ्ने प्रेम विक र प्रकाश पुन पनि पढाइ छाडेर इँटा बोक्न भक्तपुर आएका छन् ।

दुई जना ६ कक्षामा पढदापढदै कामको खोजीमा इँटा बोक्न आएका हुन् । दैनिक ५ सयसम्म कमाइ हुने भएपछि उनीहरूलाई पढाइको वास्ता छैन । ‘अब जेठमा गएर फेरि पढ्छु’, प्रकाशले भने ।

समाजले गत पुसमा गरेको सर्वेक्षण अनुसार काठमाडौं उपत्यकाको एक सय आठ इँटाभट्टामा तीन हजार एक सय दुई परिवारका साथमा आएका तीन हजार दुई सय ६२ बालबालिकाको विद्यालय छुटेको छ ।

समाजका कार्यक्रम संयोजक युवराज रोक्काका अनुसार पाँच वर्षमुनिका बालबालिकाको संख्या एक हजार दुई सय ८७ छ ।

विद्यालय छाडेर आएका ६ देखि १८ वर्ष उमेर समूहका १ हजार ९ सय ७६ जना छन् । ‘७० प्रतिशत बालबालिका विद्यालय छाडेर इँट्टा बोक्छन्’, उनले भने । भक्तपुरमा ६२, ललितपुरमा २५ र काठमाडौंमा १८ वटा इँटाभट्टा सञ्चालनमा छन् ।

भट्टामा मात्रै होइन, बालुवा खानी, यातायात मजदुर, घरेलु कामदारमा प्रयोग गरिएका बालबालिकाले समेत बीचमै पढाइ छाड्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

विद्यालय छाड्नेमा पारिवारिक अवस्था कमजोर भएका र निरक्षर अभिभावकका छोराछोरी बढी रहेको शिक्षाविद् विनयकुमार कुसियतले बताए ।

‘विद्यार्थीको समस्या के हो, बुझ्न नसकेसम्म विद्यालय छाड्ने दर कमी हुँदैन’, उनले भने, ‘कुन विषयमा विद्यार्थी कमजोर छन् र कसरी सुधार गर्ने भन्नेबारे विद्यालय र शिक्षकको योजना जरुरी छ ।’

पूर्वप्रधानाध्यापक धनन्जय शर्माले स्वदेशमा रोजगारी सिर्जना गरेर गरिब परिवारको आर्थिक अवस्था सुधार नगरेसम्म विद्यालय छाड्ने विद्यार्थीे संख्या कम गर्न नसकिने बताए ।

सरकारले निःशुल्क पढ्ने व्यवस्था गरे पनि अभिभावकको आर्थिक अवस्था सुधार हुन सकेको छैन । ‘भर्ना अभियानको दिन बाजा बजाएको देखेर दौडदै विद्यालयसम्म आउँछन्, भोलिपल्टदेखि त रमाइलो हुँदैन’, उनले भने, ‘विद्यालयमा पनि रमाइलो वातावरण हुँदैन । बाजा पनि बुझ्दैन । चकलेट पनि बाडिदैन । झिलिमिली पनि हुँदैन । त्यसपछि रजिस्टरमा लेखिएको बालबालिका भोलिपल्ट आउन छाड्छन् । सरकारी तथ्यांकमा गाउँभरिको बालबालिका विद्यार्थी विद्यालयमा देखाउँछ । तर, विद्यार्थीले विद्यालय जान छाडिसकेका हुन्छन् ।’