कोलम्बो, १४ चैत । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाका कान्छा भाइको शनिबार दुई दिन पहिले एक व्यक्तिले हानेको बन्चरोको चोटका कारण अस्पतालमा मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।
तीन सन्तानका पिता प्रियन्था सिरिसेनाको टाउकोमा आफ्नै गृहनगर पोलोनारारुवामा उक्त प्रहारका कारण गम्भीर चोट लागेको थियो ।
राष्ट्रपति सिरिसेना चीनको राजकीय भ्रमणमा रहनुभएका समयमा उहाँका भाइ स्थानीय व्यापारीको मृत्यु भएको हो ।
प्रहरीले उक्त आक्रमणका सम्बन्धमा एक पुरुषलाई पक्राउ गरिएको र हाल अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
सरकारले बिहीबार साँझ एक विज्ञप्ति प्रकाशन गरी एक मित्रसँगको झगडाको समयमा प्रियन्थामाथि आक्रमण भएको जानकारी दिएको छ ।
प्रहरीले मृतकको उमेर ४० भएको बताए पनि सरकारी विज्ञप्तिमा उनको उमेर ४२ भएको उल्लेख गरिएको छ ।
राष्ट्रपति रिसिसेना सहितको १२ जना सन्तानमा प्रियन्था सबैभन्दा कान्छो भएको आधिकारिक स्रोतले उल्लेख गरेको छ ।
उनलाई आपत्कालीन उपचारका लागि राजधानीको अस्पतालमा उडानमा ल्याइएपछि उनको टाउकोमा लागेको चोट निकै गम्भीर भएकाले शल्यक्रिया गरिए पनि निजमा स्वास्थ्य लाभ नभएको जानकारी चिकित्सकले दिएका छन् ।
जनवरीमा भएको राष्ट्रपति पदको निर्वाचनमा सिरिसेना शक्तिमा पुग्नुभएको हो ।
श्रीलङ्काका पूर्व नेताभन्दा विपरीत सिरिसेनाले आफ्ना दाजुभाइलाई व्यक्तिगत सुरक्षाको व्यवस्था गर्नुभएको छैन । उहाँले आफ्नै सुरक्षाको व्यवस्थामा पनि निकै कटौती गर्नुभएको बताइएको छ । रासस/एएफपी














प्रतिक्रिया