२ कार्तिक २०८३, सोमबार

सिन्धुपाल्चोकमा फुटबल प्रतियोगिता शुरु, मेलम्चीको पोल्टामा उद्घाटन खेल

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पलाती, २३ पुस । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ४ पलातीमा जिल्ला व्यापी ‘कोमल माया–खड्ग बस्नेत स्मृति कप फुटबल’ प्रतियोगिता शुरु भएको छ ।

बुधबारदेखि अंगेरीपाखा खेल मैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा शेर्पाले उद्घाटन गरेका हुन् ।

बस्नेत र शेर्पाले रेफ्री र खेलाडीहरूलाई फुटबल प्रदान गरेर प्रतियोगिता शुरु गरेका हुन् । पूर्वमन्त्री समेत रहेका बस्नेतका कान्छा भाई–बुहारी प्रकाश बस्नेत र सृष्टि बस्नेतले प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।

जिला खेलकुद संघ सिन्धुपाल्चोकको प्राविधिक सहयोगमा प्रतियोगिता पुस २२ देखि २८ सम्म सञ्चालन हुनेछ । अंगेरीपाखा खेल मैदानमा शुरु भएको प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये ९ स्थानीय तहको सहभागिता रहेको छ ।

मेलम्ची नगरपालिका र भोटेकोसी गाउँपालिकाबीच उद्घाटन खेल भएको थियो । खेलमा मेलम्ची नगरपालिकाले ४ गोलअन्तरले भोटेकोसी गाउँपालिकालाई पराजित गरेको छ ।
प्रतियोगिताका प्रथम हुने विजेता टिमलाई १ लाख ११ हजार १ सय रुपियाँसहित शिल्ड र पुरस्कारहरू प्रदान गरिनेछ ।

दोस्रो विजेतालाई ५५ हजार ५ सय ५५ र अन्य विभिन्न विधाका विजेताहरूलाई नगदका साथै शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रममा कांग्रेस नेता बस्नेत, एन्फाका अध्यक्ष शेर्पाका साथै एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, जिल्ला फुटबल संघ सिन्धुपाल्चोकका अध्यक्ष मनकुमार श्रेष्ठ (सानु भाई) तथा पदाधिकारी, खेलाडी, शुभेच्छुकहरू लगायतको उपस्थिति रहेको थियो ।