
काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सिता दाहाललाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि सोमबार भारतको मुम्बई लगिएको छ । दाहाललाई मुम्बई लगिएपछि उपप्रधानमन्त्री पोखरेलले फेसबुकमार्फत सिता दाहालको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
‘आज कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर अस्वस्थता झेलिरहेकी आफ्नी पत्नी सिता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गर्नुभएको छ । सिताजीको स्वास्थ्य लाभको कामना !’, पोखरेलले लेखेका छन् ।
तर, पत्नी सिताको उपचारका लागि मुम्बई प्रस्थान गरेका प्रचण्डप्रति भने पोखरेलले शंका व्यक्त गरेका छन् । सीता दाहालको स्वास्थ्यलाभको कामनासँगै प्रचण्डप्रति शंका व्यक्त गर्दै उनले लेखेका छन्, ‘हालै भारतीय सञ्चार माध्यमहरूले ‘प्रचण्डले नेपालमा देखा परेको राजनीतिक समस्या समाधानका लागि खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखा परेको समस्या समाधानका लागि भारतसित सहयोगको माग गरे’ भन्ने समाचारसित जोडिएर सिताजीको उपचारमा कहिंकतै अलमल नहोस् भन्ने सुझाव दिन चाहान्छु ।’
‘सिताजी चाँडै स्वास्थ्यलाभ गरी फिर्नुहोस्, हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु !’, पोखरेलले अन्तिममा पुनः लेखेका छन् ।
राजनीतिक सरगर्मीकाबीच भारत पुगेका प्रचण्ड राजनीतिक झमेलामा अल्झिए भने विरामीले उपचार नपाउन सक्ने सम्भावनालाई औंल्याउँदै पोखरेलले उक्त सुझावसहितको सुभेच्छा प्रकट गरेका हुन् ।
यो पनि पढ्नुहोस्–
- श्रीमती सीताको उपचारका लागि प्रचण्ड मुम्बई प्रस्थान
- नयाँ दिल्ली हुँदै मुम्बईसम्म पुग्दैछन् प्रचण्ड, सीता दाहालको उपचार मात्रै छ की राजनीतिक भेट पनि हुन्छ ?















प्रतिक्रिया