१ कार्तिक २०८३, आइतबार

एउटै न्यायाधीशले सुनुवाइ गर्ने परम्परा तोड्न माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले जिल्ला अदालतमा कुनै एक मुद्दा शुरुदेखि अन्त्यसम्म एउटै न्यायाधीशले सुनुवाइ गर्ने प्रचलन हटाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग माग गरेका छन् ।

ती निकायहरुका पदाधिकारीहरुले शुक्रबार प्रधानन्यायाधीश राणासँग भेट गरी जिल्ला अदालतमा एउटै मुद्दा शुरुदेखि अन्त्यसम्म एउटै न्यायाधीशले हेर्दा विकृति विसंगति बढेको उल्लेख गर्दै त्यस्तो प्रचलन हटाउन माग गरिएको नेपाल बारका महासचिव लीलामणि पौडेलले नेपाल समाचारपत्रसँग बताउनुभयो ।

जिल्ला अदालतमा मुद्दा दायर भएदेखि फैसला नभएसम्म बीचको अवधिमा गर्नुपर्ने सबै प्रक्रिया एउटै न्यायाधीशको इजलासबाट हुने गर्दछ । ‘शुरुदेखि अन्त्यसम्म एउटै न्यायाधीशले सुनुवाइ गर्दा अदालतबाट नराम्रो परिपाटी बस्ने गरेको पाइएकाले त्यसलाई हटाउन आफूहरुले त्यस्तो प्रक्रिया हटाउन माग गरेको हो ।’

सर्वोच्च तथा उच्च अदालतमा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै छ भन्ने बारेमा सोही दिनको १० बजेपछि मात्र थाहा हुने गर्दछ । तर, जिल्ला अदालतमा भने मुद्दाको प्रारम्भिक सुुनुवाइबाट नै सम्बन्धित न्यायाधीशले नै फैसला गर्ने भएकाले कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने बारेमा सधैं थाहा भइरहने हुन्छ ।

यसैगरी बारका प्रतिनिधिहरुले संवैधानिक इजलासमा दायर भएका विवादहरुलाई चाँडो टुङ्गो लगाउने ब्यवस्था गर्न पनि प्रधानन्यायाधीशसँग माग गरेका छन् । संवैधानिक इजलासमा दायर भएका विवादहरु लामो समयदेखि निक्र्योल हुन सकेका छैनन् । संवैधानिक इजलास विविध कारणबस सम्बन्धित दिनमा बस्न सकेको छैन ।

सर्वोच्च अदालत र उच्च अदालतमा मुद्दाको पेसी तोक्ने कार्य क्रमशः प्रधानन्यायाधीश र मुख्य न्यायाधीशबाट हुने गर्दछ । यस्तो व्यवस्था हटाउन पनि बारले प्रधानन्यायाधीशसँग माग गरेको छ । पेसी तोक्ने कार्य प्रधानन्यायाधीश र मुख्य न्यायाधीशको सट्टा अटोमेसन (मिसिनबाट हुने कार्य)मा लैजानुपर्ने माग बारको छ ।

बारले गरेको मागका सम्बन्धमा प्रधानन्यायाधीश राणाले आफू तयार रहेको तर त्यसमा केही मिलाउनुपर्ने भएकाले ढिलाइ भएको बताउनुभएको थियो । अटोमेसनमा लैजानका लागि ढिलाइ हुने भए गोला प्रथा अपनाउन पनि बारले माग गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।