१ कार्तिक २०८३, आइतबार

यसकारण पुनर्स्थापनामा बोल्दैन कांग्रेस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ पुस । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्‍यो। उसले भन्यो– ‘प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।’

कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन र त्यसविरुद्ध कांग्रेस सडकमा उत्रिनेछ। पुस ६ गते पनि आफ्नै पहलमा प्रमुख दलहरूको बैठक राखेर कांग्रेसले त्यही कुरा दोहोर्‍यायो। आन्तरिक बैठकपछि थप छलफल गरेर अघि बढ्ने दलीय सहमति भयो। यसबीचमा कांग्रेसले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्‍यो। तर उसले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भनेर अहिलेसम्म बोलेको छैन।

प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा उभिनुपर्ने भन्दै नेता रामचन्द्र पौडेलसहितका केही नेताले जारी केन्द्रीय समितिको बैठकमा आबाज उठाएका छन्। बाहिरबाट पनि सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब परिरहेको छ।

तर सभापति देउवाले पुस १३ गते आयोजित विरोधसभामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भए पनि अब उक्त विषय अदालतमा पुगेकाले त्यहाँबाट आउने निर्णय मान्ने स्पष्ट पारे। ‘अहिले यो मुद्दा अदालतमा छ, हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो,’ देउवाले भक्तपुरमा आयोजित कार्यक्रममा भने, ‘अदालतले दिने निर्णय हामी स्वीकार गर्छौं। अदालतमा विचाराधिन कुरामा हामीले बोल्ने कुरा छैन, हामी न यता न उता। अदालतलाई धम्क्याउने, थर्काउने, प्रभावित पार्ने हाम्रो चलन छैन।’

त्यसो भए के सभापति देउवाले भनेजस्तै कांग्रेसले अदालतमा विचाराधिन मुद्दा भएरै मात्र पुनर्स्थापनाको पक्षमा नबोलेको हो त ? नेता पौडेलसहित संस्थापन इतरपक्षका केही नेता त्यसलाई मान्न तयार छैनन्। उनीहरू सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारीलगायत साँठगाँठ गरेको हुन सक्ने आशंका गर्छन्। सत्तास्वार्थभन्दा संविधान र राजनीतिक प्रणालीको रक्षा पक्षमा कांग्रेसले आफूलाई उभ्याउनुपर्ने र अदालतलाई आफ्ना कुरा सुनाउनुपर्ने तर्क पुनर्स्थापना पक्षधरले गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि नै बलात्कार गरेको आरोप लगाउँदै आएका पौडेल मेरो पार्टीको भलो कसरी हुन्छ भन्नुभन्दा पहिला देश, जनताको भलो कसरी हुन्छ र संविधानको सुरक्षा कसरी गर्ने भन्ने कुरा सोच्नुपर्ने तर्क गर्छन्। ‘मेरो पार्टीलाई फाइदा भइहाल्यो भनेर हाम फाल्ने होइन,’ उनले भने, ‘खेत रह्यो भने न बाली आउँछ। खेतै गयो भने बाली कहाँ लगाउने हो ?’

देउवानिकट नेताहरूले भने प्रतिनिधिसभा पुनर्स्थापना अदालतबाहेक सडक आन्दोलनबाट सम्भव नरहेकाले फैसला कुर्नुबाहेक विकल्प नरहेको बताउँदै आएका छन्। विगतमा सडक अन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भयो भनेर अहिले त्यस्तै हुने अवस्था नरहेको बताउँदै उपसभापति विमलेन्द्र निधिले अदालतको निर्णय कुर्नुबाहेक विकल्प नभएको बताए। ‘सडक आन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने म देख्दिनँ,’ निधिले भने, ‘अदालतको निर्णय नआउँदासम्म प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको हामीले विरोध गर्नुपर्छ। सरकारको गलत कामको भण्डाफोर गर्नुपर्छ।’

सत्तारूढ नेकपा राजनीतिक रुपमा विभाजित भए पनि कानुनी रूपमा एउटै रहेकाले सत्तास्वार्थका लागि फेरि पनि मिल्न सक्ने कांग्रेस नेताहरूको बुझाइ छ। ‘हिजो पनि कुनै नीति, कार्यक्रम र सिद्धान्तका आधारमा एकीकरण भएको होइन, सत्तास्वार्थका लागि एक भएका हुन्,’ एक नेताले भने, ‘भोलि पनि उनीहरूबीच एकता वा सहकार्य हुन सक्छ।’ बालकृष्ण अधिकारीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।